सम्पादकीय—लाटोकोसेरो संरक्षणको पहल

कास्कीको हेमजामा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गर्नु खुसीको समाचार हो । यसलाई जैविक विविधताको संरक्षणको प्रयास मान्नुपर्छ । झन् यसमा समुदायको सक्रिय सहभागिता र संस्थागत सहकार्य हुनु सुखद पक्ष हो । तिब्रेकोट सामुदायिक वनका उपभोक्ता समूहले १ सय दशमलव ७४ हेक्टर क्षेत्रफललाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेका छन् । यो अरु सामुदायिक वनका लागि पनि शिक्षा हो । वन भनेको काठ, दाउरा र घाँसपातका लागि मात्रै होइन, जीवजन्तु र चराचुरुंगीका लागि पनि हो । यस किसिमको उदाहरण दिन तिब्रेकोट सामुदायिक वन सफल भएको छ । र, ऊ बधाई तथा धन्यवादको हिस्सेदार छ ।
लाटोकोसेरो चरा किसानको मित्र हो, यसले मुसा मार्छ र खान्छ अनि किसानको बाली जोगाउन मद्दत गर्छ । लाटोकोसेरो जोगाउनु किसानका बालीनाली जोगाउनु हो । पोखरा २५ हेमजाको लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा सम्भवतः नेपालकै पहिलो प्रयास हो, जसले प्रकृतिप्रेमीहरूमाझ मात्र होइन, देशभरिका अन्य सामुदायिक वन समूहहरूमाझ पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।
प्रकृतिका साथीहरू नामको संस्था पनि यहाँ धन्यवादको पात्र हो, जसले स्थानीयलाई लाटोकोसेरो संरक्षणका लागि प्रेरित गर्यो । संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले सन् २०२४ मा ह्विट्ली अवार्डबाट प्राप्त पुरस्कार रकम ५० हजार पाउन्ड (८५ लाख रुपैयाँ) लाई गण्डकी प्रदेशमा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न उपयोग गरेका छन् । त्यसैको एउटा नतिजा हेमजाको तिब्रेकोट वनमा लाटोकोसेरो संरक्षण क्षेत्र घोषणाका रुपमा प्रकट भएको छ । लाटोकोसेराका गुँडहरु बनाउने र यसको संरक्षणका अभियन्ताहरु जन्माउने, हुर्काउनको गरी आचार्यले चलाइरहेको अभियान प्रभावकारी बन्दै गएको देखिन्छ । लाटोकोसेरो संरक्षण दूतहरु तिनका उदाहरण हुन् र ती दुतहरुले प्रभावकारी कामहरु पनि गरिरहेका छन् ।
गुलेली प्रयोग निषेध, कृत्रिम गुँड निर्माण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर समुदायले लाटोकोसेरो संरक्षणमा योगदान गरेको छ । खासमा सामुदायिकमात्रै होइन सबै वनमा गुलेली प्रयोग निषेधै हुनुपर्छ र सबैखाले चराचुरुंगीको बाँच्न पाउने हक सुरक्षित गर्नुपर्छ । तिब्रेकोट सामुदायिक वनले देखाएको उदाहरणअनुसार अन्य सामुदायिक वनहरूले पनि संरक्षणका यस्तै प्रयास अघि बढाउनु आवश्यक छ ।
सरकार, स्थानीय निकाय र समुदायबीचको सहकार्यबाट मात्रै यस्ता महत्वाकांक्षी लक्ष्यहरु हासिल गर्न सकिन्छ । लाटोकोसेरो संरक्षण गरिनुपर्ने पन्छी हो र अरु पनि यस्ता पन्छीहरु छन्, जसको संरक्षण गरिएन भने जैविविधता र खाद्यचक्रमै नकारात्मक असर पर्छ । वन, वन्यजन्तु र पन्छीहरुको संरक्षण मानव जीवन रक्षाकै लागि आवश्यक छ भन्ने सबैले मनन गर्न जरुरी छ ।
तपाईको प्रतिक्रिया