सहायकस्तरका कर्मचारीलाई सेवाकालीन तालिम

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तर कर्मचारीहरुका लागि ३० कार्यदिने सेवाकालीन तालिम सोमबारदेखि सुरु भएको छ । तालिममा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत नायब सुब्बा÷सहायकस्तर पाँचौं तहका ३० जना र खरिदार/सहायक स्तर चौंथो तहका ३० गरी जम्मा ६० कर्मचारीको सहभागिता छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले यस प्रकारको सेवाकालीन तालिमले कर्मचारिहरुको वृत्ति विकासमा र सेवा प्रवाहमा सकरात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर । उनले कर्मचारीहरुलाई सकरात्मक सोच राखी इमान्दारीपूर्वक कानुन बमोजिम सेवाग्रहीको मन जित्ने गरी कार्यसम्पादन गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको निर्धारित आचारसंहितामा रही तालिममा सक्रियतापूर्वक सहभागी हुन प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै तालिममा सिकेका ज्ञान शिप र प्रविधिले प्रशिक्षार्थीहरुको आगामी दिनमा कार्यसम्पादनमा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
प्रतिष्ठानले कार्यसम्पादनमा आधारित प्रशिक्षण, समस्या केन्द्रित अध्ययन तथा अनुसन्धान, सवाल केन्द्रित संवाद र ज्ञान व्यवस्थापनका क्षेत्रमा काम गर्दै आइरहेको छ । प्रतिष्ठानबाट हालसम्म करिब १९ हजार जनाले विभिन्न किसिमका तालिम प्राप्त गरेका छन् । ५ सय ८० जना सहायक र अधिकृत कर्मचारीले सेवाकालीन तालिम प्राप्त गरेका छन् । कार्यक्रम सञ्चालन प्रतिष्ठानका प्रशासकीय अधिकृत प्रज्ज्वल आचार्यले गरेका थिए ।
तपाईको प्रतिक्रिया