सिमेन्टको मूल्यवृद्धिले समस्या

समाधान संवाददाता २०८१ पुष २२ गते १९:३४

पोखरा । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले पछिल्लो समय सिमेन्टमा भएको अत्यधिक मूल्यवृद्धिले भौतिक निर्माणको गति धीमा हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो १ महिनाभित्र प्रति बोरा सिमेन्टको मूल्यमा ३ सय ५० रुपैयाँसम्म मूल्य बढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमा मूल्यवृद्धि अस्वभाविक भएको जिकिरमात्र गरिएको छैन, मूल्यवृद्धि फिर्ता लिन, प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न मागसमेत गरिएको छ ।

Advertisement

पोखराकी महासचिव शोभा गौतम र लेखनाथकी महासचिव जानुका पराजुलीबाट सोमबार जारी विज्ञप्तिमा सिमेन्टमा मूल्य बढेकै कारण भौतिक निर्माणका कामहरु रोकिएको जिकिर पनि गरिएको छ । ‘मूल्यवृद्धिबाट निश्चित कार्ययोजना र लागत अनुमानमा भौतिक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरु मूल्यवृद्धिले सबैभन्दा बढी मारमा परेका छन् । एकातिर राज्यले सम्पन्न भएको कामको भुक्तानी दिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चित मूल्याङ्कनको आधारमा लिइएको ठेक्कामा लागत बढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्था सिर्जना भएको छ, ‘विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा दुबै उद्योग वाणिज्य संघले संविधानप्रदत्त उद्योगी÷व्यवसायीहरुको मुनाफा लिन पाउने अधिकारको सदैव पक्षपोषण गर्ने भए पनि उपभोक्ता हित संरक्षणलाई पनि आफ्नो दायित्व सम्झने पनि उल्लेख छ । ‘कालोबजारी, कार्टेलिङ र खुला बजार नियन्त्रणमा लिने प्रयत्नलाई हामी सदैव अस्वीकार गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया