कुरेचौरमा प्लास्टिकमुक्त कार्यक्रम

समाधान संवाददाता २०८१ पुष २३ गते १६:०१

पोखरा ।
पोखरा–१६ मा रहेको पर्यटकीय गाउँ कुरेचौरमा वातावरण संरक्षण र सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


स्वाभिमान टोल विकास संस्था कुरेचौरका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–१६ का वडा सदस्य रामचन्द्र आचार्यले डस्टबिनमा फोहोर संकलन गर्दै सफाइ अभियानको शुभारम्भ गरे । सो अवसरमा सफाइ अभियानलाई साथ दिँदै गाउँदेखि मूल सडक र डाँडाका चौतारासम्म सरसफाइ गरिएको थियो ।


सरसफाइपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामचन्द्र आचार्यले घर, छिमेक र गाउँको वातावरण सफा राख्न सबै गाउँलेले निरन्तर लाग्नुपर्ने बताए । उनले गाउँ तथा वरपरको वातावरण सफा राख्न यस क्षेत्रमा घुम्न आउने आगन्तुकहरूको पनि जिम्मेवारी रहेको उल्लेख गर्दै जथाभावी फोहोर नगर्न आग्रह गरे ।

Advertisement


टेन्जिङ एन्ड डोल्मा नेपालको विशेष सहयोगमा आयोजित कार्यक्रममा बोल्दै वडा सदस्य मञ्जु नेपालीले गाउँको वातावरण सफा र मनोहर रहेको भन्दै यसलाई सदैव स्वच्छ राख्न स्थानीय बासिन्दाको मुख्य भूमिका रहने बताइन् । स्वाभिमान टोल विकास संस्थाका पूर्व अध्यक्ष होमनाथ आचार्य, समाजसेवी तथा शुक्ला साहित्य प्रतिष्ठानका सचिव रामप्रसाद पौडेल लगायतले सफाइ अभियान सफल पार्न आगन्तुक पर्यटक र छिमेकी गाउँहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।


पोखरा महानगरको वातावरण महाशाखाका अधिकृत इन्जिनियर निर्मल भण्डारीले प्लास्टिकले मानवीय जीवन, वातावरण प्रदूषण र जैविक धरातलमा पारेको असरबारे जानकारी दिँदै प्लास्टिकको प्रयोग न्युनिकरण र व्यवस्थापनबारे प्रशिक्षण दिए । कार्यक्रममा फोहोर व्यवस्थापनका लागि डस्टबिन, कुचो लगायत सामग्रीहरू वितरण गरिएको थियो ।

Advertisement


स्वास्थ्यकर्मी श्यामसुन्दर आचार्यको संयोजकत्वमा आयोजित कार्यक्रममा कुलदीप महिला विकास संस्थाकी सचिव आरती सुवेदी आचार्यले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रम सञ्चालन स्वाभिमान टोल विकास संस्थाका सदस्य बोधराज आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया