आहा रारा गोल्ड कपमा सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन

पोखरा ।
२४औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा सनराइज ड्राइभिङ स्कुल पनि जोडिएको छ । उक्त संस्थाले फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार राशि प्रायोजन गरेको हो ।
सो सम्बन्धमा आयोजक सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवराज बराल र ड्राइभिङ स्कुलका तर्फबाट अध्यक्ष बसन्त भट्टचनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
उक्त अवसरमा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व कोषाध्यक्ष राजु लालचनसमेतको उपस्थिति थियो । संस्थाले सर्वाधिक गोलकर्तावापत ५० हजार प्रदान गर्नेछ ।
पोखरामा लामो समयदेखि ड्राइभिङ सिकाउँदै आएको सनराइजले नयाँबजारसहित फुलबारी, पोखरा रंगशाला गेट अगाडि र बिरौटाका शाखामा समेत ड्राइभिङ प्रशिक्षण दिँदै आएको सञ्चालक सरोज केसीले बताए ।
सहारा क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्दैछ । प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।
क्लबले हालैमात्रै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, खेलकुदसम्बन्धी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेटघाट तीव्र पारेको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ मुख्य प्रायोजक कायमै छ । क्लबले पोखरा–१७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालक रहेका क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालकहरूको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।
तपाईको प्रतिक्रिया