पोखरा म्याराथनको पुरस्कार राशि बढ्यो

समाधान संवाददाता २०८१ पुष २३ गते १९:३४

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ का विजेता खेलाडीलाई प्रदान गर्ने नगद पुरस्कारको राशि बढाइएको छ । म्याराथनको १९ औं संस्करणसम्म आइपुग्दा नगद पुरस्कारको राशि बढाएर २१ लाख ३४ हजार पुर्‍याएको नेपाल भूतपूर्व मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

आगामी फागुन ३ गते शनिबार यो वर्षको म्याराथन प्रतियोगिता हुँदैछ । पोखरा म्याराथनको १८ औं संस्करणमा नगद पुरस्कारको राशि १८ लाख १६ हजार रहेको थियो । ‘विगत ३ वर्षदेखि पुरस्कारको राशि बढोत्तरी गर्दै सहभागी धावकलाई थप आकर्षण दिने प्रयास गरिएको छ,’ उनले भने, ‘विगतको म्याराथनमा खुल्लातर्फ चौथोसम्मलाई नगद पुरस्कार दिँदै आएकोमा अहिले आठौं स्थानसम्मको लागि पुरस्कारको व्यवस्था गरेका छौं ।’ अध्यक्ष गुरुङले नेपालका ४ म्याराथनमध्ये पोखरा म्याराथन पहिलो र सर्वाधिक पुरस्कार राशिको भएको दाबी गरे ।

नेपालका ४ म्याराथनमध्ये पोखरा म्याराथन पहिलो र सर्वाधिक पुरस्कार राशिको भएको दाबी

उनका अनुसार खुल्ला ४२.१९५ किलोमिटरको म्याराथनको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्नेछ । द्वितीयले ३ लाख, तृतीयले २ लाखका अलावा सान्त्वना स्वरूप चौथोदेखि आठौं स्थान हासिल गर्ने धावकले ३० देखि १० हजारसम्म नगद पुरस्कार पाउने अध्यक्ष गुरुङले जनाए ।

उनका अनुसार खुल्लातर्फ म्याराथन गण्डकीमा प्रथम हुने धावकले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् । चौथोदेखि आठौं स्थान प्राप्त गर्ने धावकलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Advertisement

महिलातर्फ हाफ म्याराथनको विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार पाउने उनले उल्लेख गरे । महिला हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र/छात्रा, ह्वीलचेयर तथा दृष्टिविहीनतर्फको दौडमा समेत पुरस्कार बढाएको जानकारी दिँदै उनले म्याराथनका लागि १ करोड ८९ लाख खर्च अनुमान गरेको बताए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराएको र रूट समेत एम्सबाट प्रमाणिकरण भइसकेको जनाए । उनले प्रथम पुरस्कार राशि १० लाख पुर्‍याउने लक्ष्यका साथ अघि बढेको बताए ।

पोखरा म्याराथनका लागि लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजनको रूपमा साथ दिएको छ । सफल डेरीले विस २०७२ देखि २०८३ सम्मका लागि प्रायोजन गरेको छ । विभिन्न १४ क्याटोगरीमा हुने म्याराथनका लागि आगामी माघ २४ गतेसम्म दर्ता गर्न पाइनेछ । अहिलेसम्म २४ विदेशी सहित ८९ खेलाडीले दर्ता गरेको अध्यक्ष गुरुङले बताए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले पोखरालाई दौड संस्कृतिको रूपमा विकास गर्न साप्ताहिक तथा मासिक दौडका अलावा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि नागरिक स्तरको दबाब कार्यक्रम लगायतका भावी योजना प्रस्तुत गरे । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रममा ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ नारालाई आत्मसात् गर्दै यही पुस २७ गतेदेखि पहिलो पटक मासिक दौड सुरु गर्न लागेको उनले उल्लेख गरे ।

उनले ‘पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि दौडौं’ भन्ने नारालाई साकार पार्ने बताए । पोखराको समृद्धि, विकास र भविष्यसँग जोडिएको विमानस्थलबाट नियमित उडानका लागि सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण र दबाब दिने सवाललाई यो वर्षको म्याराथनको मूल विषय बनाउने उनले बताए । उनले पोखराका विभिन्न वडाहरूको समन्वयमा साप्ताहिक (पार्क रन) दौडको रूपमा आयोजना गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया