जग्गा कब्जाको आरोप

समाधान संवाददाता २०८१ पुष २४ गते १०:४९

पोखरा ।
पोखरा–२५, हेमजाका बलराम परियार र बागलुङकी खिममाया रसाइलीले आफ्नो जग्गा जालसाजी र झुक्याएर कब्जा गरिएको आरोप लगाएका छन् ।

Advertisement


संयुक्त दलित संघर्ष समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा परियार र रसाइलीले आफ्नो दुःखेसो पोखेका हुन् । परियारले पोखरा–१८, सराङकोटको र रसाइलीले तनहुँ जामुनेस्थित आफ्नो जग्गा कब्जामा परेको बताएका छन् ।


बलराम परियारले २ वर्षअघि ४ लाख रुपैयाँ आवश्यक परेपछि सुकुम्बासीको जग्गा दृष्टि बन्धक राखेर ३ लाख रुपैयाँ लिएको बताए । ‘सराङकोटको ८ आना ३ पैसा ३ दाम जग्गा दृष्टिबन्धक राखेर पैसा लिँदा ३ लाख मात्र पाएँ,’ उनले भने । ब्याजको नाममा पचास हजार काटिएको, ९२ हजारको चेक दिएको तर त्यो चेक साट्न नपाएको उनको गुनासो छ ।


‘मेरो सुकुम्बासी जग्गा फिर्ता दिन भनेर धेरै प्रयास गरें । प्रहरीमा उजुरी गर्दा एक जनाले मिलाउने भनेका थिए, तर अहिले उनीहरूसँग सम्पर्क गर्नै नसकिने अवस्था छ,’ उनले थपे ।

५ लाख रुपैयाँ ऋण लिन खोज्दा ७ लाख दिएको भन्दै झुक्याइको दुखेसो

Advertisement


बागलुङकी खिममाया रसाइलीले २०७४ सालमा ५ लाख रुपैयाँ ऋण लिन खोज्दा ७ लाख दिएको भन्दै अज्ञानता र झुक्याइको फाइदा उठाइएको बताइन् । ‘ऋण दिएको नाममा तनहुँ जामुनेस्थित मेरो आठ आना जग्गा राजीनामा गराएको रहेछ,’ उनले भनिन् ।

रसाइलीले २०७६ सालमा ऋण तिरेपछि मात्रै जग्गा आफ्नो नाममा नरहेको थाहा पाएको सुनाइन् । ‘हामीले त्यतिबेला धितोको कागज होला भनेर ल्याप्चे लगायौं । पछि मालपोत गएपछि थाहा भयो, जग्गा राजीनामा गराइएको रहेछ,’ उनले भनिन् ।
परियार र रसाइली दुवैले आफूहरूको अज्ञानता र आवश्यकताको फाइदा उठाउँदै आफ्नो सम्पत्ति कब्जा गरिएको भन्दै न्याय मागेका छन् । उनीहरूले प्रहरी र प्रशासनमा उजुरी दिएर समस्या समाधानका लागि पहल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया