सहकारीका समस्या र समाधानका उपायबारेमा अन्तर्क्रिया

पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ लि. गोरखा र जिल्ला बचत तथा ऋण संघ लि., गोरखाको समन्वयमा २०८१ साल पुस २३ गते गोरखा नगरपालिकामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रमुख अतिथि नगरप्रमुख कृष्ण बहादुर राना मगरले कार्यक्रमको उद्घाटन गर्दै ग्रामीणस्तरमा सञ्चालित सहकारी जनताको आवश्यकता परिपूर्तिका लागि सबैका लागि एक र एकका लागि सबै भन्ने मूल मर्म अनुसार अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए। नगर प्रमुखले केही सहकारी संस्था निष्क्रिय रहेको तर्फ इंगित गर्दै सहकारी संस्था सहकारी सिद्धान्त र नियम कानुन अनुसार सञ्चालन हुनुपर्ने र सम्बन्धित नियामक निकायमा नवीकरण र अद्यावधिक भई निरन्तर प्रतिवेदन गर्नुपर्ने धारणा समेत राखेका थिए।
सहकारी रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत चोलाकान्त वाग्ले र जिल्ला सहकारी संघ, गोरखाका महासचिव सरोज देवकोटाले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रममा जिल्ला सहकारी संघ लि., गोरखाका अध्यक्ष बाबुराम कोइरालाले स्वागत मन्तव्य राखेका थिए। जिल्ला सहकारी संघ लि. गोरखा र जिल्ला बचत तथा ऋण संघ लि., गोरखाका पदाधिकारीहरूका साथै विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापक गरी ७५ जनाको सहभागिता रहेको सो कार्यक्रममा कार्यपत्र प्रस्तोताहरूले नयाँ अध्यायदेशका विषय, सम्पत्ति शुद्धीकरण लगायतका सहकारी कानुन, गण्डकी प्रदेशमा सहकारीको तथ्याङ्क र वर्तमान अवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुति र छलफल भएको थियो।
सो कार्यक्रममा ठाकुर पोखरेल, भरत कट्टेल, ऋखिराज धौराली, लालप्रसाद श्रेष्ठ, सिर्जना दवाडी, ईश्वरकुमार प्रधान, सरोज पोखरेल, रामबाबु श्रेष्ठ आदिले आ-आफ्ना सहकारी संस्थाका समस्या एवं राम्रा पक्षहरूका सम्बन्धमा धारणा राखेका थिए। सहभागीहरूले धितो लिलाम प्रक्रिया, सञ्चालकको कार्यकाल, सदस्यता पहिचान, बचत र ऋणको सीमा, दृष्टिबन्धक पारित गर्दा छुट हुनुपर्ने आदि विषयका सम्बन्धमा जिज्ञासा, सुझाव एवं प्रतिक्रिया राखेका थिए भने सो सम्बन्धमा सहकारी रजिष्ट्रार रिजाल र शाखा अधिकृत वाग्लेले जवाफ दिएका थिए।
तपाईको प्रतिक्रिया