गोरखामा सहकारीबारे अन्तक्र्रिया

पोखरा ।
सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ लि. गोरखा र जिल्ला बचत तथा ऋण संघ लि., गोरखाको समन्वयमा २३ गते गोरखा नगरपालिकामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नगरप्रमुख कृष्णबहादुर राना मगरले कार्यक्रम उद्घाटन गरेपछि ग्रामीणस्तरमा सञ्चालित सहकारी जनताको आवश्यकता परिपूर्तिका लागि सबैका लागि एक र एकका लागि सबै भन्ने मूल मर्म अनुसार अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।
नगर प्रमुखले केही सहकारी संस्था निष्क्रिय रहेको तर्फ इंगित गर्दै सहकारी संस्था सहकारी सिद्धान्त र नियम कानुन अनुसार सञ्चालन हुनुपर्ने र सम्बन्धित नियामक निकायमा नवीकरण र अद्यावधिक भई निरन्तर प्रतिवेदन गर्नुपर्ने धारणा समेत राखेका थिए ।
सहकारी रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत चोलाकान्त वाग्ले र जिल्ला सहकारी संघ, गोरखाका महासचिव सरोज देवकोटाले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रममा जिल्ला सहकारी संघ लि., गोरखाका अध्यक्ष बाबुराम कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।
जिल्ला सहकारी संघ लि. गोरखा र जिल्ला बचत तथा ऋण संघ लि, गोरखाका पदाधिकारीहरूका साथै विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापक गरी ७५ जनाको सहभागीता रहेको सो कार्यक्रममा कार्यपत्र प्रस्तोताहरुले नयाँ अध्यायदेशका विषय, सम्पत्ति शुद्धीकरण लगायतका सहकारी कानुन, गण्डकी प्रदेशमा सहकारीको तथ्यांक र वर्तमान अवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुति र छलफल भएको थियो ।
कार्यक्रममा ठाकुर पोखरेल, भरत कट्टेल, ऋखिराज धौराली, लालप्रसाद श्रेष्ठ, सिर्जना दवाडी, ईश्वरकुमार प्रधान, सरोज पोखरेल, रामबाबु श्रेष्ठ आदिले आ–आफ्ना सहकारी संस्थाका समस्या एवं राम्रा पक्षहरूका सम्बन्धमा धारणा राखेका थिए ।
सहभागीहरुले धितो लिलाम प्रक्रिया, सञ्चालकको कार्यकाल, सदस्यता पहिचान, बचत र ऋणको सीमा, दृष्टिबन्धक पारित गर्दा छुट हुनुपर्ने आदि विषयका सम्बन्धमा जिज्ञासा, सुझाव एवं प्रतिक्रिया राखेका थिए । सो सम्बन्धमा सहकारी रजिष्ट्रार रिजाल र शाखा अधिकृत वाग्लेले जवाफ दिएका थिए ।
तपाईको प्रतिक्रिया