महाधिवेशन तयारीमा मोना

समाधान संवाददाता २०७६ असोज १० गते १४:१५

राकेश शर्मा
म्याग्दी

म्याग्दीको घोडेपानीमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौ साधारणसभाको तयारी तीव्र पारिएको छ । असोज १४ देखि १६ गतेसम्म हुने महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको मोनाले जनाएको छ ।

मोनाका पदाधीकारी बेनीमा अधिवेशनको तयारी गरिरहेका छन् । विभिन्न देशबाट महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउन थालेका छन् । प्रवासी म्याग्देलीलाई आफ्नो जिल्लाको पर्यटकीयस्थल चिनाउनुका साथै ग्रामीण पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानीमा महाधिवेशनको आयोजना गरिएको मोनाका अध्यक्ष चक्र थापाले जानकारी दिए । बेनीमा रहेको सचिवालयमार्फत समन्वय र तयारी गरिरहेको उनले बताए । पहिलो अधिवेशन र दोस्रो साधारणसभा बेनीमा भएको थियो । दोस्रो अधिवेशन दरवाङ, चौंथो साधारणसभा पोर्चुगलमा भएको थियो । मोनाले फरक फरक ठाउँमा साधारणसभा र अधिवेशन गर्ने नीति लिएको छ ।

Advertisement

महाधिवेशनको व्यवस्थापन संयोजक जंगबहादुर पुनले घोडेपानीबासी प्रवासी पाहुनाको स्वागतका लागि जुटेको बताए । स्थानीयबासीसँग समन्वय गरी तयारी तीव्र बनाइएको बताए । गाउँपालिकाले महाधिवेशन स्थलमा दीर्घकालीन प्रयोग हुने गरी पूर्वाधार निर्माण गरिरहेको छ । अधिवेशनको अवसरमा घोडेपानीमा दन्त शिविर सञ्चालन गर्न मंगलबार बेनी अस्पताल व्यवस्थापन, चिकित्सक र स्वास्थ्यकमीरुसँग छलफल गरिएको छ । यसअघि अधिवेशनको सुरक्षा तयारीका विषयमा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारीसँग छलफल भएको थियो । अधिवेशनको अवसरमा बेनीमा वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । बेनीमा सुरु हुने प्रतियोगिताको फाइनल प्रतियोगिता घोेडेपानीमा सञ्चालन गरिने संयोजक तजेन्द्र बानियाले जानकारी दिए ।

महाधिवेशनमा वडास्तरीय भलिबल प्रतियोगिता, कलाकारद्वारा गीत तथा नृत्य प्रस्तुत, निशुल्क दन्त परीक्षण, समृद्ध म्याग्दीका लागि सामूहिक लगानी भित्र्याउने सम्बन्धमा बृहत छलफलसमेत गरिने भएको छ ।

Advertisement

आगामी २ वर्षे कार्यकालका लागि मोनाको नयाँ नेतृत्वसमेत चयन हुनेछ । मोना विश्वभर छरिएर रहेका म्याग्देलीको साझा संस्था हो । पछिल्लो कार्यसमितिको पहलमा विश्वका २० वटा देशमा मोनाको कार्यसमिति विस्तार भएको छ । यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि कोष स्थापना भएको छ । विद्युतीय पुस्तकालय अभियान सञ्चालन गरेको छ । प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।

अन्य आयोजनामा पनि प्रवासी र गैरआवासीय नेपालीको लगानी भित्र्याउन पहल गरिएको मोनाका पदाधीकारीले बताएका छन् । प्रवासमा समस्यामा परेका म्याग्देलीलाई मोनाको समन्वयमा सहयोग गरिएको छ । प्रवासी म्याग्देलीले मोनामार्फत म्याग्दीको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । प्रवासीले म्याग्दीको विकास गतिविधिमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

तपाईको प्रतिक्रिया