नेसनल प्याब्सन कास्कीको स्थापना दिवस, १४५ शिक्षक र कर्मचारी सम्मानित

समाधान संवाददाता २०८१ पुष २७ गते १८:४८

पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रम आयोजना गरी २६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर संस्थामा आवद्ध ३३ विद्यालयका १ सय ४५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयमा १५ वर्षसम्म निरन्तर काम गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदकद्वारा सम्मानित गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी खड्गबहादुर रानाभाटलाई सम्मान गरिएको थियो । रानाभाटलाई नेशनल प्याव्सन कास्की खेलकुद सेवा सम्मान २०८१ बाट नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेललाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसर पारेर २०६१/०६२ सालमा स्थापना भएका एन प्याब्सनमा आवद्ध विद्यालयलाई विद्यालय सम्मानबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुने विद्यालयहरूमा गण्डकी एकेडेमी कास्की, ओयसिस सेकेन्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यु लेखनाथ पब्लिक एकेडेमी रहेका छन् ।

Advertisement

यसैगरी २०८० सालको एसईईमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुने विद्यालयहरूमा अल्फा एकेडेमी, बाल प्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, होली माउण्ट इङ्लिस स्कुल, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ मोमोरियल इङ्लिस बोर्डिङ स्कुल, मर्निङ ग्लोरी एकेडेमिक स्कुल, पुष्पसदन एकेडेमी कास्की, पायोनियर इङ्लिस एकेडेमी रहेका छन् ।

यसैगरी २०८० सालको एसएलसी परीक्षामा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रतर्फ न्यू ग्यालेक्सी माविका अभिनित प्रधान र छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी आकृती पन्तलाई सम्मान गरिएको थियो ।
त्यस्तै २०८० सालको एसईई परीक्षामा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रतर्फ कास्की मोडर्नाइज्ड एकेडेमीका गौरव सापकोटा तथा छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी अलिसा श्रेष्ठ र बड्स एकेडेमीकी विमला पौडेलाई सम्मान गरिएको थियो । उनीहरूलाई नगद १० हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । स्थापना दिवसकै अवसर पारेर प्रकाश गरिएको स्मारिकाको विमोचन पनि गरिएको थियो ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संस्थागत विद्यालयका समस्या समाधान गर्नका लागि महानगर सधैं सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानित व्यक्तित्व भूतपूर्व खेलाडी मञ्च कास्कीका अध्यक्ष खड्गबहादुर रानाभाट, नेसनल प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेल, सम्मानितको तर्फबाट लिटल फ्लावर सेकेन्डरी स्कुलका कक्षा ११, १२ का संयोजक विष्णुहरि पौडेलले बोलेका थिए ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । नेसनल प्याव्सन कास्कीमा ४९ विद्यालय आवद्ध छन् ।

तपाईको प्रतिक्रिया