लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

समाधान संवाददाता २०८१ पुष २७ गते १८:५६

लेखनाथ । लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिँदै गर्दा किनमेल गर्ने दर्शकहरूको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ,’ महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले भने ।

Advertisement

महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवको १० औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक एक करोड ३५ लाख बराबरको कारोबार भएको हो । यसै गरी महोत्सवको हालसम्म एक लाख ९० हजार दर्शकले अवलोकन गरेका छन् र शनिबार मात्र ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिइन् । शनिबार दिउँसो महोत्सव स्थलमा दर्शकहरूको अत्यधिक चाप बढेपछि आपतकालीन गेट खुला गरी दर्शकहरूलाई सहज रूपमा आवागमनको व्यवस्था मिलाइएको थियो ।

स्थानीय क्षेत्रका विद्यालयहरूमा परीक्षा सकिएर जाडो विदा पनि भएका कारण बालबालिका सहित अभिभावकहरूको उपस्थिति पनि उल्लेख्य वृद्धि भएको हो । महोत्सव सकिन अब तीन दिन मात्र बाँकी रहेको र एक पटक महोत्सव जानैपर्ने मान्यता स्थापित भएकाले पनि महोत्सवको पछिल्ला दिनहरूमा दर्शक र कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखिएको दर्शकहरूको उपस्थिति र कारोबारले आफूहरूलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि बढी दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक राजेन्द्र ओझाले बताए ।

शनिबार लोकदोहोरी कलाकारहरू सुप्रिम मल्ल, आशा बिसी, कृष्ण अखेली, रमा राना, जीवन दाहाल, शिवहरी ढुंगाना लगायतले प्रस्तुति राखेका थिए भने बेलुका राजु लामाको लाइभ ब्यान्ड मंगोलियन हार्टको प्रस्तुतीले स्टेज तताएको थियो ।

Advertisement

महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरू खुमन अधिकारी, प्रीति आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु विक लगायतले प्रस्तुति राख्नेछन् भने बेलुका लाइभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा ब्यान्डको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सहआयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

तपाईको प्रतिक्रिया