—सम्पादकीय— विश्वविद्यालयको औचित्य

समाधान संवाददाता २०७६ असोज १० गते १५:४९

नेपालमा ११ वटा विश्वविद्यालय छन् । गण्डकी प्रदेश सरकारले अर्काे विश्वविद्यालय खोल्ने कानुन संसदबाट पारित गरेको छ । गण्डकी विश्वविद्यालय खोल्ने उसको उद्देश्य हो । संविधानले नै प्रदेशलाई विश्वविद्यालय खोल्ने हक दिएको छ । विकसित देशहरुमा महानगरपालिकाहरुसम्मले पनि विश्वविद्यालय खोल्ने गरेका छन् । त्यसैले प्रदेशले विश्वविद्यालय स्थापना गर्न लाग्नु नौलो होइन । संविधानले दिएको अधिकारै गण्डकी प्रदेशले प्रयोग गर्न लागेको हो । प्रदेश स्थापना भइसकेपछि गर्नुपर्ने थुप्रै कामहरुमध्ये गण्डकी सरकारले विश्वविद्यालयलाई प्राथमिकतामा राख्नु सुखदै मान्नुपर्छ । विकास भनेको सडकमात्रै होइन, प्राज्ञिक थलोको स्थापना पनि हो भनेर बुझ्नु बौद्धिकताको संकेत हो । यो कार्यको प्रशंसा भने त्यतिबेला नै हुनेछ जतिबेला साँच्चीकै राजनीतिक अहस्तक्षेपसहितको प्राज्ञिक थलो स्थापना हुनेछ ।

विश्वविद्यालयको स्थापनाको औचित्यचाहिँ गण्डकी प्रदेशले पुष्टि गर्नुपर्ने खाँचो आजै देखिएको छ । अरु विश्वविद्यालय जस्ता छन्, जुन ढंगबाट खोलिए र, चलेका छन्, त्यही मोडलमै स्थापना हुन लाग्यो गण्डकी विश्वविद्यालय पनि भनेर प्राज्ञिक क्षेत्रबाट आलोचना भइसकेको छ । गण्डकी विश्वविद्यालयको कानुन जसरी तयार भएको छ, त्यसबाट आजको आवश्यकता पूर्ति गर्ने तथा अरु विश्वविद्यालयभन्दा भिन्न संस्था स्थापना नहुने हो कि भन्ने संशय प्राज्ञहरुले व्यक्त गरेका हुन् । जुन विषय अहिले अरु विश्वविद्यालयमा पढाइ भइरहेको छ, त्यही विषय पढाउने गरी अर्काे विश्वविद्यालय चाहिन्न । अहिले जसरी विश्वविद्यालय सम्बन्धन बेचेर बाँचिरहेका छन्, त्यसरी नै बाँच्ने गरी विश्वविद्यालय खुल्यो भने फेरि विकृति विसंगति र भ्रष्टाचारले विश्वविद्यालयलाई गाँज्ने नै छ । पोखरा विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई नै बनाउन सकिन्थ्यो प्रदेश मातहत । तर त्यहाँका प्राधिकारले त्यो चाहेनन् । तनहुँ शुल्कागण्डकीमा रहेको भानुभक्त क्याम्पसमा विश्वविद्यालय बनाउने प्रस्ताव गर्दा त्यहाँबाट पनि प्रदेशप्रति विरोध जनाइएको छ । प्राज्ञिक थलो आउँदा स्वागतको सट्टा विरोध गर्नु अचम्म भएको छ ।

विश्वविद्यालय त प्राज्ञिक जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ अनुसन्धान गर्ने थलो हुनुपर्छ । यस्तो होस् कि गण्डकी विश्वविद्यालयमा पढ्दापढ्दै रोजगारदाताले त्यहाँका विद्यार्थीलाई अग्रिम बुकिङ गुरुन् रोजगारीका लागि । जस्तो कि छिमेकी भारतमै त्यस्ता थुप्रै विश्वविद्यालय र इन्स्टिच्युसनहरु छन्, जहाँ विद्यार्थी स्तानक हुनहुन लाग्दै गर्दा लाखौं रुपैयाँ तलबको अफर कर्पाेरेट हाउसले गर्छन् । गण्डकी विश्वविद्यालय यस्तो होस्, जहाँका उत्पादन बेरोजगार बस्न नपरोस्, रोजगारीका लागि विदेश नजाउन् । सके स्वदेशमै उत्पादनशील काम गरुन् । उद्यमी बनून् । अरुलाई रोजगारी दिने सिर्जनशील कर्ममा लागून् । नसके पनि स्वदेशमै रोजगारी गरुन् । जसरी हाम्रा युवा आज विदेशका विश्वविद्यालयमा पढ्न मरिहत्ते गर्छन्, त्यसको उल्टो गंगा बगाउने सफलता गण्डकीलाई मिल्यो भने प्रदेश सरकारको प्रयासको औचित्य पुष्टि हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया