आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, विभिन्न स्थान र जातिको आआफ्नै परम्परा

समाधान संवाददाता २०८१ माघ १ गते ५:११

Advertisement

काठमाडौं । आज मुलुकभर थारू समुदायसहित अन्य समुदायहरूले माघे सङ्क्रान्ति पर्व मनाइरहेका छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने क्रममा माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन र रातको लम्बाइमा परिवर्तन हुन्छ। उत्तरायणको पहिलो दिन स्नान, जप, तप, ध्यान साधना र दानलाई पुण्यदायक मानिन्छ। आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी जस्ता ठाउँमा माघ स्नान गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्नेछ। यहाँ विशेष मेलासमेत लाग्ने गर्दछ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। उनीहरूले आज अनिवार्य रूपमा नुहाउनु पर्ने मान्यता राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ। धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने र ध्यान नगर्ने व्यक्तिहरू जीवनभर रोगी हुने उल्लेख गरिएको छ, प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।

उत्तरायणपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिहरूले पुण्य प्राप्त गर्दै मनोकामना पूर्ण हुने विश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारहरूले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा खाने गरिन्छ। तरुललाई पुसको अन्तिम दिनमा पकाएर माघमा खाने प्रचलन छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भनेर उखानका रूपमा प्रयोग गरिन्छ।

Advertisement

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कने विश्वास गरिएको छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेदिक मान्यता छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्याग गरेका थिए। आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ। स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीचको संवाद अर्थात् स्वस्थानी सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ र माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ, प्रा. डा. भट्टराईले जानकारी दिनुभयो।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यो व्रत गर्नेहरूले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्। यसैले यसलाई माघस्नान पनि भनिन्छ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुल जस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व र नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइरहेका छन्। आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइन्छ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम दिने चलन पनि छ। माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रको यो पर्व मनाइन्छ। राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाइरहेका छन्। थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाबाट आशीर्वाद लिने परम्परा छ।

आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर परिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म सबैले स्वतन्त्रताको अनुभव गर्छन्।

तिलले स्नान गर्नु, तिलको तेल लगाउनु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग गर्दा सफल प्राप्त हुने विश्वास यो समुदायमा छ। तिलको तेल लगाउँदा शरीरको तापक्रम बढेर जाडो कम हुने विश्वास गरिन्छ।

आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ। यस पर्वको अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, र अन्य पदहरूका लागि लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन्। सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ। थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य मानिन्छ। यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ। थारू समुदायमा विवाह, यात्रा, र बसाइँसराइका लागि माघीको समयमा साइत हेर्न नपर्ने चलन छ। रासस

तपाईको प्रतिक्रिया