कागबेनी—छुसाङ सडक कालोपत्रे हुने

जोमसोम ।
कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र कागबेनीदेखि छुसाङसम्मको ९ दशमलव ८ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि नेपाल सरकार अर्थ मन्त्रालयले बजेट स्रोत सुनिश्चित गरेको आयोजनाले जनाएको छ ।
मुस्ताङको कागबेनीदेखि छुसाङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का योजनाका रूपमा ५० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको आयोजनाका प्रमुख ध्रुव झाले जानकारी दिए ।
योसँगै कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि छुसाङसम्म करिब ११५ किलोमिटर सडक कालोपत्रे हुने आयोजना प्रमुख झाको भनाइ छ । यसअघि कोरला सडक अन्तर्गत मालढुंगादेखि कागबेनीसम्म १०५ किमी सडकको कालोपत्रे ठेक्का भई काम अघि बढेको थियो । आयोजनाले कोरला सडक अन्तर्गत कालोपत्रे योजनाको ७५ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको उनले बताए ।
कोरला सडक अन्तर्गत कागबेनीदेखि कोरलासम्म ९७ किलोमिटर ग्राभेल भइसकेको आयोजनाका प्रमुख झाले बताए । कालोपत्रे नयाँ योजना अन्तर्गत कागबेनीदेखि छुसाङसम्मको दूरीमा अस्फाल्ट कालोपत्रे सडकको नयाँ ठेक्का प्रक्रिया जेठ महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।
तपाईको प्रतिक्रिया