
जोमसोम ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप फोहोर मैला व्यवस्थापनमा जुटेको छ । एक्याप क्षेत्र अन्तर्गत गण्डकी प्रदेशका ५ वटै जिल्लामा फोहोर व्यवस्थापनका लागि जुटेको हो ।
मुस्ताङलाई स्वच्छ र सफा राख्ने उद्देश्यले फोहोरलाई व्यवस्थापन गर्न सुरु गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । प्रदुषण मुक्त जिल्ला र पर्यटकीय वातावरणमैत्री सहरको रुपमा विकास गरी पर्यटक तथा नागरिकको स्वास्थ्य रक्षाका लागि एक्यापले फोहोर मैला अभियानलाई मुख्य प्राथमिकतामा राखेर अभियान संञ्चालन गरेको उनले जनाए ।
मुस्ताङको घरपझोङ—५ ठिनी र घरपझोङ—३ स्याङमा जम्मा भएको संकलित फोहोरलाई एक्यापले ट्रक ढुवानी गरी व्यवस्थापन सुरु गरेको छ । त्यहाँको वडा कार्यालय, आमा समुह र संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा जम्मा भएको पुन प्रयोगमा आउने फोहोर उठाउन सुरु गरेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।
घरपझोङ गाउँपालिकाको ठिनी र स्याङ गाउँमा संकलित प्लास्टिक र धातु जन्य फोहोर ५४ बोरा र सिजा जन्य १ हजार २३९ केजी अर्थात २६ कार्टुन फोहोर पुन प्रयोग (रिसाईकल) प्रयोजनार्थ पोखरा स्थित ग्रीन रोड वेस्ट मेनेजमेन्ट कम्पनीमा पठाईएको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।
मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री सहरको रुपमा स्थापित गर्न सरोकारवाला निकायहरुको निरन्तर सहयोगको अपेक्षा गरिएको उनले बताए । पर्यटन विकास र प्रदुषण मुक्त सहरको विकासले मात्रै पर्यटकलाई आर्कर्षित गर्ने र यसले आर्थिक समृद्धिमा योगदान पुग्ने कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे ।
हरेक घर र टोलबाट निस्किने फोहोरको समुचित व्यवस्थापन, संंकलन र बर्गीकरण गरी नजिकैको संकलन केन्द्रमा जम्मा गरी सुरक्षित राख्न अनुरोध गरेका छौं,’ एक्याप प्रमुख रेग्मीले थपे,‘ संकलन केन्द्रमा जम्मा भएको फोहोरलाई हामीले उठाएर प्रशोधन (रिसाईकल) केन्द्रमा पठाउने छौं ।’
मुस्ताङको घरपझोङ गाउँपालिकाले २ वर्ष अघिनै पालिकालाई सिसाजन्य सामाग्रीमा पूर्ण प्रतिबन्ध लगाईसकेको छ । घरपझोङले सिसाका बोतलहरुलाई निरुत्साहित गर्ने क्रममा बोतलमा ब्रान्डिङ भएका पेय पदार्थ बियरलाई आयातमा प्रतिबन्ध लगाईसकेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए ।
उनले सिसाजन्य सामाग्रीमा निषेध गरिएको र प्यास्टिकको झोला प्रयोगमा समेत न्यूनिकरण गर्ने अभियानमा जुटेको अध्यक्ष लालचनले सुनाए । उनले यसका लागि पालिकाले प्लास्टिक झोला बिस्थापित गरी अनुुदान छुट दिएर गाउँपालिकाको लोगो अंकित कपडाको झोला प्रयोगमा ल्याएको उनले बताए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया