एनसिआइटीलाई फुटसल उपाधि

पोखरा ।
नेपाल कलेज अफ इन्फोमेसन टेक्नोलोजी (एनसिआइटी)ले दोस्रो खुला पोखरा विश्व विद्यालय अखिल कप फुटसल प्रतियोगिता २०८१ को उपाधि जितेको छ ।
अनेरास्ववियु पोखरा विश्वविद्यालय (पियू) राष्ट्रिय कमिटीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा पियु अन्तर्गतको एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गरी उपाधि जितेको कमिटी अध्यक्ष उमेश भण्डारीले जानकारी दिए ।
ललितपुरको च्यासल स्थित नेसनल स्पोर्टस् सेन्टरमा भएको प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले भाग लिएका थिए । प्रतियोगिताको विजेता एनसिआइटी कलेजले ६० हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लिबर्टी कलेजले ४० हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेलले उद्घाटन गरेको प्रतियोगिताको समापन समारोहमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले विजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष तथा प्रतियोगिताका संयोजक भण्डारीले प्रतियोगिताले विद्यार्थीबीच एकता र सहयोगको भावनाको विकास हुनुका साथै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हाँसिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।
अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा पोखरा विश्वविद्यालय इन्चार्ज भरतसिंह धामीले प्रतियोगिता खेलकुदको माध्यमबाट विद्यार्थीबीच एकता र सहकार्यको सन्देश दिन सफल भएको बताए ।
तपाईको प्रतिक्रिया