सिमेन्टको मूल्यवृद्धि फिर्ता लिन पोखरा चेम्बरको माग

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले सिमेन्टमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै फिर्ता लिन उत्पादन कम्पनीहरुसँग माग गरेको छ । चेम्बरको कार्यसमितिको बैठकले सिमेन्ट लगायतका निर्माण सामग्रीको अस्वभाविक रुपमा विना आधार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको अध्यक्ष उमराज बास्तोलाले जानकारी दिए ।
‘केही दिनयता सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वभाविक रुपमा बिना आधार वृद्धि गरेकाले यसको प्रत्यक्ष असर आम उपभोक्ता, हार्डवयर व्यवसायी र निर्माण व्यवसायीलाई परेको छ,’ अध्यक्ष उमराज बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउनुपर्ने बेलामा सिमेन्ट उत्पादको मनोमानी तबरको मूल्यवृद्धिले काम गर्ने वातावरण असहज भएको छ ।’
विज्ञप्तिमा अस्वभाविक सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न निर्माण व्यवसायी र उपभोक्तालाई काम गर्ने सहज वातावरण मिलाउन नेपाल सरकारसमक्ष माग गरिएको छ । निजी सिमेन्ट उत्पादकहरूले कार्टेलाइजेसनमार्फत मूल्य बढाएपछि नेपालमा निर्माण गतिविधि प्रभावित भएको छ ।
पछिल्ला ६ महिनाको अवधिमा सिमेन्टको मूल्य दोब्बर वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धिको औचित्य पुष्टि गर्न र मूल्यसूची बुझाउन एक हप्ताको समय पूरा भए पनि सिमेन्टका उत्पादकले चित्तबुझ्दो जवाफ दिएका छैनन् ।
तपाईको प्रतिक्रिया