‘युवाको कदमले भ्रष्टचार रोक्छ’

प्रमिला कुँवर २०८१ माघ ८ गते १२:०४

पोखरा ।
भ्रष्टाचार विरुद्धको अभियानमा युवाको सक्रिय सहभागिता नै समाज परिवर्तनको मुख्य आधार हो भन्ने धारणा पोखरामा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको छ । एकाउन्टेबिलिटी ल्याबको आयोजनामा सोमबार भएको कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुले भ्रष्टाचार रोकथामका लागि युवाले खेल्न सक्ने भूमिकाबारे आफ्ना विचार राखेका थिए ।

Advertisement


पत्रकार रघुनाथ वाग्लेले अपराधका समाचार विस्तृतमा जानकारी दिँदा नकारात्मक सन्देश जान सक्ने भएकाले संवेदनशील भएर पत्रकारीता गर्नुपर्ने बताए । तथ्यमा आधारित समाचारले भ्रष्टाचार गर्नेहरूको मानसिकतामा परिवर्तन ल्याउन सक्ने लामिछानेको भनाइ छ ।


समाचार संकलन र प्रकाशन गर्दा सत्यता र प्रमाणमा आधारित भएर कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै, गलत सूचना र पक्षपातले नकारात्मक प्रभाव पार्न सक्ने बताए । ‘समाचारमा जनताको चासो र न्याय प्रणालीलाई सहयोग पु¥याउने गरी तथ्य उजागर गर्नुपछ,’ वाग्लेले भने ।


भ्रष्टाचार नियन्त्रणका लागि नीति निर्माणमा जागरुक युवाहरुले सक्रिय सहभागिता जनाउनुपर्ने नगर युवा परिषद पोखरा महानगरपालिका कार्यकारी अध्यक्ष सन्तोष न्यौपानेको धारणा छ । युवाले भ्रष्टाचारविरुद्धको कानूनी प्रक्रियाबारे बुझेर अरुलाई पनि सचेत बनाउन सक्ने उलने बताए ।


‘युवाहरुले शासन प्रणालीमा पारदर्शिता र जवाफदेहिताको माग गर्नुपर्छ । सरकारी सेवामा रहेका युवाले इमान्दारिताको उदाहरण प्रस्तुत गरि अरुलाई प्रेरित गर्न सक्छन्,’ न्यौपानेले थपे ।

Advertisement


स्वास्थ्य क्षेत्रमा व्याप्त अनियमितताबारे बोल्दै धौलागिरि विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष गोविन्द गौतमले स्वास्थ्य सेवा सुधारका लागि पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको औंल्याए ।


नेपालमा उपचार महँगो भएको बताउँदै स्वास्थ्य बिमा थप प्रभावकारी बनाउन सकेमा बिरामी लाई राहत पुग्ने उनले बताए ।
उनले भने ‘हेल्थ सेक्टरका अनियमितताविरुद्ध आवाज उठाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्नुपर्छ, बिरामीको हकका लागि सत्यको पक्षमा उभिनु स्वास्थ्यकर्मीको दायित्व हो ।’


रोट्रयाक्ट पोखरा विश्वविद्यालयका अध्यक्ष बिक्रम धामीका अनुसार शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार व्याप्त छ । शिक्षा क्षेत्रमा भ्रष्टाचारका कारण गुणस्तर खस्कँदै गएकोमा धामीले चिन्ता व्यक्त गरे ।


विद्यालय, कलेजमा हुने आर्थिक अपचलन, नक्कली प्रमाणपत्र जारी गर्ने प्रचलन, शिक्षक नियुक्तिमा हुने अनियमितता, कतिपय ठाउँमा छात्रवृत्ति वितरणमा समेत पक्षपात हुने गरेको उनको गुनासो छ ।


नातावाद प्रवृतिले गरीब तथा योग्य विद्यार्थीले उचित अवसर नपाउने तथा शिक्षकको अनियमित नियुक्तिले शिक्षाको स्तर खस्कने धामीले बताए । पारदर्शिता कायम गर्ने, कडा कानूनी कार्यान्वयन गर्न, र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन सकेमा समस्याको समाधान हुने उनको सुझाव छ ।


कार्यक्रमका वक्ताहरूले पारदर्शिता कायम राख्न, कानूनी कार्यान्वयन कडा गर्न, र प्रभावकारी अनुगमन प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारको विरुद्ध सशक्त रुपमा उभिएर युवाले समाज परिवर्तन गनुपर्ने तथा उनीहरूको प्रभावकारी कदमले भ्रष्टाचारमुक्त समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया