नतिजामूलक काम गर्न अध्यादेशः उपप्रधान तथा अर्थमन्त्री पौडेल

पोखरा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अतिरिक्त र नतिजामूलक काम द्रुत गतिमा गर्न अध्यादेश ल्याएको दाबी गरेका छन् । एमाले कास्कीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पौडेलले सरकारले औषत गतिमा काम गर्दा नागरिकका आकांक्षा सम्बोधन गर्न नसकिने दाबी गरे ।
उनले समयमात्र गुजार्नुभन्दा राम्रो काम गर्ने बताए । सरकारलाई सदनप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले दुई तिहाई बहुमत भएको अवस्थामा संसद छल्न नपर्ने तर्क गरे । विधेयक पारित गर्न वर्ष दिन लाग्ने चर्चा गर्दै उनले कानुन बनाउन वर्षदिन कुर्ने समय नभएको उल्लेख गरे । ‘सुस्त र धिमा गतिमा हिडेमा गन्तव्यमा पुग्न सकिन्न,’ उनले भने, ‘नजितामूलक काम द्रुत गतिमा गर्नका लागि २९ कानुन एकै पटक संशोधन गरेका छौं ।’
उनले सदनले ६० दिनभित्र अध्यादेशलाई अनुमोदन गरेर पारित गर्ने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले सेवा प्रवाह, सुशासन, आर्थिक चलायमान, रोजगारीका अवसर सिर्जना, वैदेशिक लगानी भित्र्याउन अध्यादेशको बाटो तय गरेको बताए । उनले एमालेले नेतृत्व गर्दा समग्र अर्थतन्त्र गतिशील भएको दाबी गरे । अर्थतन्त्रका परिसूचक रातो, पहेलो हँदै हरियो भएको संकेत गर्दै उनले देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको दाबी गरे ।
पौडेलले एमालेले सरकार छोड्नेबित्तिकै अर्थतन्त्रको सूचक रातो हुने जिकिर गरे । उनले सरकारले अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व परिचालन, वैदेशिक सहयोग र स्रोत व्यवस्थापनमा ध्यान दिएको सुनाए । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्थालाई सम्हालेको दाबी गर्दै उनले आर्थिक क्षेत्रका सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्ने तर्क गरे ।
उनले ऋण अनुदानको विकल्पमा वैकल्पिक वित्तको व्यवस्थापन गर्न कानुनको मस्यौदा गरेको खुलाए । बहुदलीय व्यवस्थामा दल बलियो हुन पर्ने उल्लेख गर्दै उनले एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत आवश्यक परेको बताए । उनले मिसन ८४ लाई लक्षित गरी वडा केन्द्रीत अभियान गरेर जनाधार विस्तार र संगठन बलियो बनाउने जानकारी दिए ।
अर्थमन्त्री पौडेलले आधारभूत तहका जनता समक्ष पुगेर पार्टीको नीति र विचार बताउने र आवश्यक सुझाव लिने उल्लेख गरे । पार्टीमा देखिएको व्यक्तिवाद र स्वच्छन्दतावादी प्रवृत्तिलाई निरुत्साहित गर्न केही व्यक्तिलाई कारबाही गरिएको उनले बताए ।
उपप्रधानमन्त्री पौडेलले ७ बुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत् चुस्त रूपमा चलिरहेको उल्लेख गरे । वर्तमान सरकार बलियो जगमा खडा भएको जानकारी दिदै उनले कोही कसैले सरकार ढाल्न नसक्ने दाबी गरे । उनले कांग्रेस एमालेका सहयात्रा २०८४ सालको चुनावसम्म जाने बताए । दुबै दलको जीवन्त सम्बन्ध रहेको चर्चा गर्दै उनले इतिहासका कठिन घडीमा सहकार्य र आमचुनावमा प्रतिस्पर्धा हुने उल्लेख गरे । उनले देशलाई समृद्धिको दिशामा लैजान सुविचारित ढंगले सहकार्य गरेको बताए ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अराजकता र अन्योलको छाँया पार्टीमा देखिन नहुने उल्लेख गरे । अराजकता र बेथिति हाबी भएका बेला लोकतान्त्रिक शक्तिको सहकार्य जरुरी हुनेमा जोड दिदै उनले पार्टीमा अनुशासन र लयबद्धता नमान्नेलाई कारवाही हुने बताए ।
नेता अधिकारीले एमाले नेता, कार्यकर्तालाई पार्टीको मुल सिद्धान्त बमोजिम परिचालित हुन आग्रह गरे । कार्यकर्ता भेलामा एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले पार्टीको तीन महिने जरा केन्द्रीत अभियानबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया