नीलकण्ठलाई तनहुँ रत्न सम्मान

समाधान संवाददाता २०८१ माघ १२ गते १९:३६

पोखरा । सामाजिक तथा मानव अधिकारको क्षेत्रका अगुवा नीलकण्ठ शर्मालाई तनहुँ रत्न सम्मानबाट शनिबार सम्मान गरिएको छ । तनहुँ सम्पर्क समाज पोखराको आठौं अधिवेशन तथा साधारण सभाको अवसरका प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । संवाद नेपालका अध्यक्षसमेत रहेका शर्मा समाजका आजिवन सदस्य हुन् । समाजका अध्यक्ष भरत केसीले समाजले विगत ३ वर्षदेखि तनहुँरत्न सम्मानबाट विशिष्ट व्यक्तिलाई सम्मान गर्दै आएको जानकारी दिए ।

Advertisement

तनहुँ रत्न सम्मान छनोट समितिका संयोजक डा. श्रीकान्त खतिवडाले सामाजसेवी, तनहुँको नाम चिनाउन योगदान गरेको व्यक्तिलाई हरेक वर्ष सम्मान गरिएको बताए । ‘गुगल फारमबाट मनोनयन पत्र मार्फत दर्खास्त आह्वान गरी प्रतिभा छनोट गरिएको छ,’ उनले भने, ‘सम्पर्क समाजका सदस्य योग्य व्यक्तिलाई सिफारिस गर्ने व्यवस्था मिलाइएको छ ।’ उनले समितिले ५ वटा मापदण्ड तय गरेर प्रतिभा छनोट गरी सिफारिस गरेको जनाए । समाजको अधिवेशनको सन्दर्भमा विद्यावारधि गरेका सुशील भट्टराईलाई समेत सम्मान गरिएको छ ।

तनहुँ सम्पर्क समाज पोखराको आठौं अधिवेशनको उद्घाटन समारोहमा पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर चुमान, समाजका अध्यक्ष केसी, वरिष्ठ उपाध्यक्ष भुवन पराजुली काफ्ले, महासचिव यामबहादुर सुर्खाली, समाजका संस्थापक अध्यक्ष चन्द्रविक्रम अधिकारी, पूर्वअध्यक्ष मुरलीमोहन काफ्ले, मातृभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद खनाल लगायतले सामाजिक क्षेत्रमा समाजले गरेका कामको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया