१५ दिनपछि पाताले छाँगोको ताला खुल्यो

समाधान संवाददाता २०८१ माघ १४ गते १९:२५

पोखरा । पोखरा महानगरपालिकाले कानुन बमोजिम पर्यटन शुल्क उठाउने गरी पर्यटकीय क्षेत्र पातले छाँगो (डेभिज फल) मा माघे संक्रान्तिदेखि लगाइएको ताला सोमबार बिहान खुलेको छ । पोखरा महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले छाँगोमा भइरहेको अवरोध हटाई तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले पाताले छाँगो महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्र्योटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार महानगरले गरेको सिलसँगै विद्यार्थीले पनि लगाएको ताला सोमबार बिहानै खोलिएको पोखरा महानगरका प्रवक्ता मोतीराज तिम्सिनाले जानकारी दिए । ॅमहानगरले पर्यटन शुल्क उठाउने गरी आज (सोमबार) बिहान महानगरले गरेको सिल निकाल्यो अनि विद्यार्थी र स्थानीय लगाएको लगाउनुभएको उहाँहरुले पनि खोल्नुभयो,’ उनले भने, ॅपोखरा महानगरको आर्थिक ऐनमा अनुसार नयाँ प्रवेश शुल्क लिइनेछ ।’

प्रवक्ता तिम्सिनाका अनुसार आर्थिक ऐनमा ३० रुपैयाँ विद्यार्थी, ५० रुपैयाँ नेपाली र अरु सबै विदेशीका लागि १ सय ५० रुपैयाँ तोकिएको छ । अब डेभिज फल अवलोकनका लागि यही शुल्क लिइने उनले बताए । पुस मसान्तसम्म विद्यार्थीले २०, अन्य नेपालीले ४०, सार्क राष्ट्रकाले ८० र अन्य राष्ट्रका नागरिकले १ सय रुपैयाँ प्रवेश शुल्क तिर्दै आएका थिए ।

छाँगो महानगरले सञ्चालन गरेपनि कर्मचारीहरु पुरानै रहने प्रवक्ता तिम्सिनाले जानकारी दिए । ॅपहिल्यैदेखि काम गर्दै आउनुभएकाहरुलाई निरन्तरता दिने भन्ने कुरा छ । अहिले सरसफाइका ३ जना, सुरक्षा गार्ड २ र टिकट काउन्टरमा बस्ने १ गरी ५/६ जना कर्मचारी हुनुहुन्छ,’ उनले भने, ॅउहाँकोहरुको पनि रोजिरोटीको कुराहरु हुन्छन् । प्रक्रिया मिलाएर निरन्तरताका लागि कुरा अगाडि बढाउछौं ।’

Advertisement

विद्यालय र महानगरसँग गरिएको सम्झौता पूर्ण पालना गर्ने र ४० वर्षे ठेक्काको विषयमा पुर्नविचार गर्ने सहमतिपछि ताला खोल्न राजी भएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा स्थानीय कमलकान्त उपाध्यायले जानकारी दिए । पर्यटकीय क्षेत्रमा सधैं ताला लगाउन उचित नहुने अनि महानगरले प्रतिवतद्धता जनाएपछि ताला खोल्ने सहमति जुटेको उनको भनाइ थियो । महानगरले सहमतिलाई दायाँबायाँ गर्छ भने पुनः आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन माविले पाताले छाँगोको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानुन, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधानहरू विपरीत रहेको ठहर गरेको छ । छाँगोको गेटमा लगाइएको ताला खोलेर नियमितरुपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । ‘महालेखाको प्रतिवेदनले समेत पाताले छाँगोबाट पर्यटन शुल्क उठाई सोबापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको हुँदा तत्कालै पाताले छाँगोमा लगाएको ताला खोलेर महानगर आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई पाताले छाँगो सञ्चालन गर्ने, पर्यटकको लागि खुला गर्ने र महालेखाले औंल्याएको बेरुजु फछ्र्योटका लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो,’ निर्णयमा भनिएको छ ।

पाताले छाँगोमा परियोजना सञ्चालन गर्ने सम्बन्धमा सर्वपक्षीय बैठकले सरोकारवाला पक्षहरूका बिचमा छलफल गर्ने निर्णय गरेको छ । सेती क्यानोन प्रालिलाई शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणामा परियोजना अगाडि बढिरहेको अवस्थामा सो परियोजनाका सम्बन्धमा स्थानीयसँग थप छलफल गरिने महानगरका मेयर धनराज आचार्यले बताए । निर्णयमा भनिएको छ, ‘सम्झौताको समयावधि र परियोजनाबाट प्राप्त हुने रोयल्टी लगायत स्थानीय बासिन्दाले प्राप्त गर्ने अवसरका सम्बन्धमा समेत राजनीतिक दल तथा स्थानीयको समेत प्रतिनिधिमूलक उपस्थितिमा छलफल गर्न आवश्यक देखिएको हुँदा सो परियोजना सञ्चालनका लागि सेती क्यानोन प्रालिको समेत उपस्थितिमा व्यापक छलफल मार्फत अगाडि बढ्ने निर्णय गरियो ।’

तपाईको प्रतिक्रिया