पोखरा युनाइटेड एकेडेमीमा फुड फेस्टिभल

समाधान संवाददाता २०८१ माघ १५ गते १९:१४

पोखरा । पोखरा १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एन्ड कन्सर्ट–२०८१’ आयोजना ग¥यो । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित फेस्टिभल भएको हो ।
फुड फेस्टिभलमा विद्यार्थीले १५ प्रकारका अर्गानिक खानाका परिकार प्रस्तुत गरेका थिए भने अतिथि, विद्यालयका अभिभावक लगायतले खानाको स्वाद लिँदै महोत्सव अवलोकन गरे । सो अवसरमा कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, निश्चल अर्याल, सन्देश देवकोटा, प्रतीक अधिकारी लगायतको प्रस्तुति ह्यो ।

Advertisement

साँझको लाइभ ब्यान्डमा रिभाइवल ब्यान्ड, जोजीजू म्युजिक र विद्यालयका दीपेश पहारीले प्रस्तुति राखेका थिए । कार्यक्रममा गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले पोखराको शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको विद्यालयले विद्यार्थीका लागि फुड फेस्टिभल आयोजना गर्नु उत्कृष्ट कार्य भएको जनाए ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले निकै ध्यान दिनुपर्नेमा जोड दिए । उनले सरकार शिक्षा ऐन ल्याउने तयारीमा रहेकाले देश सुहाउँदिलो गुणस्तरीय शिक्षाका लागि सबैले सुझाव दिनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले यसले विद्यालयको गरिमालाई उचो बनाउन विश्वास व्यक्त गरे ।
प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए । कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारी र शिक्षक फणीन्द्रराज पौडेल र गीतादेवी शर्माले पनि बोलेका थिए । २०५० मा स्थापित विद्यालयमा हाल ८ सय ५० विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया