महानगरले पाताले छाँगाेको नाम पनि बिगार्यो, शुल्क पनि बढायो

पोखरा ।
पर्यटकहरुले डेभिज फल भनेर चिन्ने पोखराको एउटा प्रमुख गन्तव्यको खास नाम पाताले छाँगाे हो । पातालतिर छाँगाे खसेको हुँदा यसलाई पाताले छाँगाे भनिएको हो । तर महानगरपालिकाले भने पातले छाँगाे नाम दिएको छ । पातले भन्नाले पातलो अर्थात, दुब्लो, खिरिलो भन्ने बुझिन्छ । पाताले छाँगाे न पातलो हो न खिरिलो र दुब्लो नै ।
वर्षाैदेखि छोरेपाटन माविले सञ्चालन गर्दै आएको पाताले छाँगाे यसै सातादेखि महानगरपालिका स्वयं आफैंले सञ्चालन सुरु गरेको छ । माघ १ गतेदेखि नै महानगरपालिकाले स्वामित्व र सञ्चालन लिन खोज्दा स्थानीय अवरोध गरेका थिए । तर वार्तापछि भने महानगरपालिका आफैंले सञ्चालन थालेको छ । महानगरपालिकाले सञ्चालन थालेपछि टिकट पनि उसैले छापेको छ । त्यही टिकटमा छाँगोको नाम पातले छाँगो लेखेर महानगरपालिकाले नाम बिगारेको हो ।
स्थानीयहरुले पाताले छाँगाे भन्दै आएको यो ठाउँलाई २०१८ पछि भने डेभिज फलसमेत भन्न थालिएको हो । एक दम्पती पर्यटक नुहाउँदा पत्नी डेभी खोलामा बगेर छाँगोमा खसी हराएकी थिइन् । सोही बेलादेखि छाँगाेलाई डेभिज फल पनि भन्न थालिएको हो । महानगरपालिकाले विदेशीको सट्टा स्वदेशी स्थानीय र नेपाली नाम नै प्रवेश टिकटमा प्रयोगमा ल्याए पनि अर्थ नै अर्को लाग्ने गरी टिकट प्रकाशन गरेको छ ।
यसअघि ४० रुपैयाँ प्रवेश शुल्क रहेकोमा नामसमेत बिगारेर महानगरपालिकाले छापेको टिकट शुल्क वृद्धि पनि गरेको छ । अहिले पाताले छाँगाे प्रवेश शुल्क ५० रुपैयाँ बनाइएको छ ।
तपाईको प्रतिक्रिया