विद्यालय शिक्षा ऐन माग्दै नेपाल शिक्षक महासंघ आन्दोलित

पोखरा । हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठक माघ १६ र १७ गते बसेपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ । माघ २० गते शिक्षक तथा कर्मचारीहरूले फेसबुक वालमा रातो आयतकार स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने सन्देश प्रवाह गर्ने कार्यक्रम छ ।
माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइनेछ । पत्र बुझाउनका लागि कम्तीमा १५ जनाको प्रतिनिधिमण्डल पठाइनेछ । सोही दिन स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने योजना रहेको छ । माघ २९ गते प्रत्येक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरी आन्दोलनको आवश्यकता र शिक्षक–कर्मचारीका मागबारे जानकारी गराइनेछ ।
माघ ३० गते पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गरिने छ ।
जिल्लास्तरमा माघ २६ गते आन्दोलन परिचालन समिति गठन गरिनेछ भने फागुन २ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाइनेछ । फागुन ११ गते जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबीच भएका विगतका सहमतिहरू समेटिएको ध्यानाकर्षण पत्र बुझाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् ।
प्रदेशस्तरमा फागुन ७ गते आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन ९ गते ७ वटै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीलाई ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम छ ।
राष्ट्रियस्तरमा माघ १८ गतेदेखि फागुन १० गतेसम्म विभिन्न सरोकारवालासँग भेटघाट गरिनेछ । सबै राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, शिक्षामन्त्री, दलका प्रमुख तथा महासचिवलाई भेटेर आन्दोलनबारे जानकारी गराइनेछ । सभामुख तथा प्रधानमन्त्रीलाई समेत लिखित जानकारी पत्र बुझाउने योजना छ ।
साथै, अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति महासंघ, विद्यार्थी संघ संगठनहरूसँग अन्तरक्रिया गरिनेछ । फागुन १७ गते काठमाडौंमा कालोपट्टीसहित जुलुस प्रदर्शन तथा खबरदारी सभा गरिने महासंघले जनाएको छ ।
फागुन १९ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिनेछ । दोस्रो चरणमा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने अध्यक्ष सुवेदीले जानकारी दिए ।
आन्दोलनका क्रममा ‘हाम्रो आन्दोलन जारी छ’, ‘हाम्रा माग सम्बोधन हुने गरी यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’, ‘नेपाल शिक्षक महासंघ जिन्दावाद’ जस्ता नारा तय भएका छन् ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया