पुल्चोकमा सहिद ऋषि परियारको सालिक

समाधान संवाददाता २०८१ माघ १७ गते १८:४७

लेखनाथ । राज्यले सहिद घोषणा नगरे पनि पार्टी विशेष र जनस्तरबाट सहिदका रुपमा सम्मान गरिएका ऋषि परियारको ३४ वर्षपछि अर्ध कदको सालिक निर्माण गरिएको छ । पञ्चायत विरुद्धको संयुक्त जनआन्दोल २०४६/४७ क्रममा कास्कीको जिल्ला पञ्चायत अगाडि सहिदचोकमा सुरक्षा फौजको गोलीबाट २०४७ वैशाख १७ मा उनको मृत्यु भएको थियो ।

Advertisement

पोखरा २९ का ऋषिको सहादतको ३४ वर्षपछि पोखरा महानगरपालिका वडा नं २९ ले पुलचोकमा अर्धकदको शालिक निर्माण गरिएको हो । सहिद दिवसको अवसरमा बुधबार भएको कार्यक्रमा सालिक अनावरण गरिएको हो । २०४६ चैत २६ गते पञ्चायती व्यवस्था अन्त्यसँगै दलमाथिको प्रतिवन्द हटेपछि विसं. २०४७ वैशाख १६ गते तत्कालीन कास्कीको जिल्ला पञ्चायत कार्यालयमा आगो लगाएर प्रमाण नष्ट गर्ने घटनाका विरुद्ध आन्दोलन सुरु भएको थियो ।

वैशाख १७ गते ऋषि परियारसहित झपेन्द्र कार्कीको गोली हानी हत्या गरिएको थियो । सोही घटनामा घाइते भएका पोखरा ६ का खेम पाहारी भने अहिले जिउदो सहितका रुपमा परिचित छन् । राज्यको तर्फबाट हत्या गरिएका परियार र कार्कीलाई भने अहिलेसम्म राज्यले सहिद घोषणा गरेको छैन भने सहिद परिवारले राज्यबाट पाउनुपर्ने सुविधासमेत दिइएको छैन ।
सहिद पत्नी ईन्द्रमायाले आफूहरुलाई राज्यले उपेक्षा गरेको सुनाइन् । विसं. २००८ सालमा जन्मिएका परियारले ३९ वर्षको उमेरमा नै ज्यान गुमाउनु परेको थियो । परियार ३ छोरामध्ये दुई जना रोजगारीका लागि विदेशमा छन् भने एक छोरा जटिल रोगका कारण मानव सेवा आश्रम हेमजामा छन् ।

Advertisement

सहिद दिवसको अवसरमा ऋषि परियारको शालिक अनावरण गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्माले ऋषि परियारलाई राष्ट्रिय सहिद घोषणा गर्नैपर्नेमा जोड दिए । उनले यसका लागि बारम्बार प्रयास गरे पनि आफू असफल भएकोमा सुनाए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले ऋषि र झपेन्द्र केवल कुनै पार्टी विशेषको सहिद नभई राष्ट्रिय सहिद भएको बताए । नेकपा एमाले कास्की जिल्ला अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले उहाँहरुको वलिदानीलाई सहिद दिवसका दिन शालिक निर्माण गरेरमात्र नपुग्ने विचार राखे । वास्तविक सहिदको पहिचान गरी उनीहरुको योगदान र सहिद परिवारका बारेमा राज्य उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।

Advertisement

सोही अवसरमा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर नेपालीले सो घटनाको आफू प्रत्यक्षदर्शी भएको सनुाए । नेपालीले राज्यले निर्दोष नागरिकलाई ताकेरै गोली हानी हत्या गरेकाले राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गरे ।
पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस वडा नं २९ का कार्यवहाक सभापति चिनबहादुर गुरुङ, वडा सदस्य सुकमाया सुनार, कर्मचारी त्रिलोचन लामिछाने र पुलचोक बगादी टोल विकास संस्थाका अध्यक्ष सन्तोष हमाल लगायतले सहिद ऋषि परियारका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया