प्रकृति र कला हेर्न बन्दीपुरमा पर्यटककाे चहलपहल

समाधान संवाददाता २०७६ असोज २८ गते १४:१५

कृष्ण न्यौपाने
दमौली

पर्यटकीय सिजन सुरु भएसँगै बन्दीपुरमा चहलपहल बढेको छ । वर्षा कम हुँदै चिसो बढेसँगै बन्दीपुर गुलजार हुन थालेको हो । असोजदेखि मंसिरसम्म बन्दीपुरमा विदेशी पर्यटक बढी आउने बन्दीपुर पर्यटन विकास समिति अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमिति सदस्य वैश गुरुङ बताउँछन् ।

भदौसम्म बन्दीपुरमा विदेशी पर्यटक देख्नै मुस्किल पर्ने तर असोजमध्यदेखि भने दैनिक ३÷४ सय पर्यटक भित्रिने गरेका छन् । ग‘भदौसम्म स्वदेशी पर्यटकको मात्रै चहलपहल हुन्छ, असोजदेखि भने विदेशी पर्यटक उल्लेख्य संख्यामा बन्दीपुर आउँछन्,’ गुरुङले भने । चाडपर्वका कारण घुम्ने संस्कृति विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय छ ।

Advertisement

बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटक बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुर वनभोजका लागि समेत चर्चित छ । बन्दीपुरका होटलमा एकै पटक १ हजार ३ सयदेखि १ हजार ४ सय पर्यटकले रात बिताउन सक्छन् । ती होटलमा करिब १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलबारे जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारी साधन निषेध गरिएको छ । पुराना घर भएकाले पनि विदेशी बढी आकर्षित हुने गरेका छन् ।

Advertisement

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृंखला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकका गन्तव्य हुन् ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । सुन्दर हिमशृंखला अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँ बताउँछन् । ‘२÷३ दिनमात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन्,’ उनले भने ।

परम्परागत घरका कारण यहाँको पर्यटनमा थप टेवा मिलेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इट्टाबाहिर देखिने प्यागोडा शैलीका घर यहाँको मुख्य आकर्षण भएको थापाको भनाइ छ ।

१८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर गरी ढुंगा बिछ्याएर बाटो बनाएका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । पुराना घरको आकर्षणले पर्यटक आकर्षित भएको भन्दै मौलिकता हराउन नदिन गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

अध्यक्ष थापाले भने, ‘बन्दीपुरको प्राचीन कला तथा संस्कृति झल्किने घरको कारणले नै आज बन्दीपुर विश्वभर प्रख्यात भएको छ । बन्दीपुरको मौलिकता जोगाउन आधुनिक घर निर्माणमा रोक लगाएका छौं ।’
गत वर्ष १ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका विदेशी पर्यटक बढी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया