पोखरामा राजस्थानी नाचको रौनक

समाधान संवाददाता २०८१ माघ १८ गते २०:२८

पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिला परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठिन हुन्छ कि, कहिलेकाहिँ उनीहरु नाचकै तालमा आफ्नो खुट्टा काँचको टुक्रा वा तरबारमा समेत राख्छन् ।

Advertisement

सामान्यतयाः यो नाचको उपक्रममा महिला टाउकोमा घडा र खुट्टामा पित्तलको थाली राखेर अगाडि बढ्छन् । भवई नाचको रुपमा प्रख्यात यो नाचको पृष्ठभूमिमा पखावज (मादलजस्तै), ढोलक, सारंगी र हार्मोनियमको संगीत गुन्जन्छ । भवई नृत्यको नामले प्रख्यात यो नाचको उत्पत्ति गुजरातमा भएको मानिन्छ तर अहिले यो नाचलाई नजिकको राज्य राजस्थानको भवई समुदायको पहिचानको रुपमा हेरिन्छ ।

पोखराको प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ अन्तर्गत शुक्रबार राजस्थानका कलाकारले मञ्चमा यो नृत्य पस्के । रंगिन पोशाकमा सजिएका कलाकार संगीतबाट प्रस्तुत भवईबाट पोखरेली मन्त्रमुग्ध बने । उनीहरुलाई ढोलकमा इलामद्दिन, मुर्चुङ्गामा सिकन्दर, हार्मोनियममा मेहबुब खान, मुजुरामा इकवाल, ढोलक र बपाङमा निजाम, सारंगीमा सफु खानले साथ थिए ।

गायकीमा इलामद्दिन, बुन्दु खान, कसम खान र मेहबुबको साथ थियो । त्यसका अलावा साथमै रहेका कलाकारद्वय ममता र मधुले दर्शकसामु कालबेलिया नृत्य प्रस्तुत गरे । कालबेलिया भारतको सीमान्तकृत समुदायमा गनिन्छ । उनीहरु सर्प समात्छन् र सर्पको विषको व्यापार गर्छन् । सर्पलाई पूज्नु र त्यस्तै नाच्नु यो जातिको विशेषता हो । यो समुदायलाई जोगिरा पनि भनिन्छ ।
कालबेलिया नृत्य अक्सर युगल हुन्छ र यसमा प्रेमका कथा भनिन्छ । यो शैलीका गीतहरु मुलधारका भारतीय सिनेमामा प्रयोग भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको सदासयतामा मेलाको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा राजस्थानी लोकनृत्य प्रस्तुत गरेको हो । त्यसो त, यो सांस्कृतिक समूहले आफ्‌नो प्रस्तुतिको क्रममा ‘दमादम मस्त कलन्दर’ जस्तो कब्बाली पनि प्रस्तुत गरेको थियो । त्यो प्रस्तुतिमा दर्शक झुमेका थिए ।

बसिमले सो समूहको नेतृत्व गरेका थिए । यो सांस्कृतिक कार्यक्रम आयोजना गर्न नयाँदिल्लीििस्थत भारतीय सांस्कृतिक सबन्ध परिषद्को सहयोग एवं स्वामी विवेकानन्द सांस्कृतिक केन्दको समन्वय रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।
यसअघि गण्डकीका वन तथा वातारणमन्त्री भेषबहादु पौडेलले सांस्कृतिक कार्यक्रम उद्घाटन गरेका थिए । उनले यस्ता साँस्कृतिक कार्यक्रमहरुको आयोजनाले नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुने तथा भाइचार बढ्ने विश्वास व्यक्त गरे ।
पोखरास्थित भारतीय पेन्सन क्याम्पका लेफ्टीनेन्ट कर्णेल ( प्रमुख सेनानी) प्रशान्त सिंह भंगेलले सुन्दर नगरी पोखरामा रंगिन पोशाक, पारम्परिक संगीत र आकर्षक नृत्यको लागि प्रख्यात राजस्थानको लोकनृत्य प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रमको निरन्तरताको प्रतिवद्धता पनि जनाए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेलाको उपक्रममा राजस्थानको लोकनत्य प्रस्तुतिको अवसर जुटाइदिने सबैप्रति धन्यवाद ज्ञापन गरे । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको सञ्चालन रहेको कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठनन्दन, नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पूर्वअध्यक्ष वसन्त उदास, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, कास्की प्रहरीका डिएसपी वसन्त शर्मासहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको उपस्थिति थियो ।

शुक्रबार नै कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी, रामजी पौडेल, मन्जु विक, अमर धिताल लगायतको सांस्कृतिक प्रस्तुति पनि मेलामा सामेल थियो भने शनिबार चोलेन्द्र पौडेल, तारापति सुवेदी, सन्तोष बस्याल, पूजा गुरुङ लगायतको प्रस्तुति रहनेछ । मेलामा शनिबार भजन–चुड्का पनि प्रस्तुत गरिने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।

मेला प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलका अनुसार शनिबार मेलाको औपचारिक समापन हुनेछ । औपचारिक समापन कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ । उत्कृष्ट टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने छ । भ्युअर्सको आधारमा विजेता छनोट गरिनेछ । आइटी महोत्सव अन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचारप्रसार उपसमिति संयोजक पौडेलले जनाए ।

तपाईको प्रतिक्रिया