ताकमका युवा राधाकृष्ण नाच संरक्षणमा   

समाधान संवाददाता २०८१ माघ १९ गते ६:०५

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् । ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताउनुभयो ।    
    
उहाँका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ ।” कलाकारहरु वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो । ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको ताकममा मात्र नाच्ने गरिन्छ ।    
    
राधाकृष्ण नाचका लागि समूहले गितको रचना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वति, उनिहरुका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन् । परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जिवनमा आइपर्ने सुःख र दुःखका क्षणलाई गित मार्फत व्यक्त गरेर नाचमा अभिनय गरिन्छ । सबै कलाकार पुरुष हुन्छन् । पार्वति र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् ।    
    
२५ मिनेट देखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचका लागि छ जना, बाद्यबाधन र गायनका लागि थप सात जना कलाकार आवश्यक पर्छ । ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाईसरेर आएका हुन् । उनिहरुलेनै यो नाच भित्र्याएको बुढापाका बताउँछन् ।    
    
अहिलेको जस्तो सूचना प्रबिधिको बिकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि चाडपर्व र मेलामा राधाकृष्ण नाच देखाउने गरिएको थियो । बिशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ । कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ । समूहको नियमित आम्दानीको स्रोत छैन् ।    
    
सरकारी स्तरबाट सहयोग आवश्यक रहेको कलाकार गोविन्द पौडेलले बताउनुभयो । कलाकारहरु विदेशिने र बसाईसराई गर्नु राधाकृष्ण नाच संरक्षणको लागि चुनौति बनेको छ । धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले राधाकृष्ण नाच संरक्षण र पुस्तान्तरणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । संस्कृति संरक्षणको साथै पर्यटन प्रर्वद्धन गर्ने उहाँले बताउनुभयो । रासस  

Advertisement

तपाईको प्रतिक्रिया