त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा खुल्ने

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ ।”
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।
सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन् । उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन् ।









भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया