कर्मचारीका शिशुका लागि स्याहार केन्द्र, प्रदेश र महानगरको लगानी

समाधान संवाददाता २०८१ माघ २१ गते १७:५८

पोखरा । सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकका शिशुहरुको उपयुक्त संरक्षण, हेरचाह र रेखदेखका लागि गण्डकी प्रदेश सरकारले दिवा शिशु स्याहार केन्द्र स्थापना गरेको छ । कार्यलय समयभित्र कर्मचारीका ६ महिनादेखि ३ वर्षसम्मका शिशुको उपयुक्त वातावरणमा संरक्षण र स्याहारसुसारका लागि पोखरा महानगरपालिकाको सहयोगमा पोखरा ८ सिमलचौरको राम आधारभूत विद्यालयमा केन्द्र स्थापना गरिएको हो ।

Advertisement

वसन्त पञ्चमीको सन्दर्भ पारी केन्द्र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सोमबार उद्घाटन गरे । उनले शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन (प्रथम संशोधन) कार्यविधि २०८१ अनुसार प्रदेश सरकारले पहिलो पटक केन्द्र स्थापना गरेको जानकारी दिए ।

‘कर्मचारीका शिशुहरुले सुरक्षित स्नेहपूर्ण र सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्न केन्द्रको स्थापना गरिएको हो,’ मन्त्री थापाले भने, ‘अबदेखि कार्यालय समयमा बाबुआमा सार्वजनिक सेवा प्रवाहमा केन्द्रित रहँदा शिशुहरूले उचित संरक्षण, स्याहार–सुसार र समुचित विकासको अवसर पाउनेछन् ।’ उनले केन्द्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गरी कर्मचारीलाई काम र कर्तव्यप्रति प्रेरित गर्ने बताए ।

मन्त्रालयका सचिव नवराज ढकालले कार्यालय समयमा सरकारी सेवामा कार्यरत कर्मचारीका शिशुको हेरचाह र रेखदेखको व्यवस्था गरी सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउनका लागि केन्द्र स्थापना हुनु प्रदेशको लागि गौरवको विषय भएको बताए । केन्द्रका लागि प्रदेशको लागत तथा प्रतिवद्धता मिसिएको उल्लेख गर्दै उनले ७० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत पोखरा महानगरपालिकाको साझेदारीमा स्थापना गरेको केन्द्रका लागि विद्यालयले कोठा प्रदान गरेको जानकारी दिए ।

उनले सामाजिक क्षेत्र हेर्ने मन्त्रालयका सचिवको संयोजकत्वमा शिशु स्याहार केन्द्र निर्देशक समिति र विद्यालय व्यवस्थापन समिति अध्यक्षको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको उल्लेख गरे । केन्द्रमा शिशुहरुका लागि खानपान, खेल, मनोरञ्जन र पर्याप्त तथा समयमा खानाको व्यवस्था गरिनेछ ।

Advertisement

मन्त्रालयका सामाजिक महाशाखाका प्रमुख मुना अधिकारीले बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी, नेपालको संविधान तथा राष्ट्रिय कानुनले शिशुको उपयुक्त हेरचाह र संरक्षणको व्यवस्था गरेको बताइन् । निजी क्षेत्रबाट समेत उपयुक्त व्यवस्था नभएको उल्लेख गर्दै उनले कानुन कार्यान्वयन गर्ने क्रममा प्रदेशले प्राथमिकताका साथ दिवा शिशु स्याहार केन्द्र स्थापना गरेको जनाइन् ।

अहिलेसम्म निजामती कर्मचारी श्रीमती संघले काठमाडौंको सिंहदरबारमा र ललितपुरमा सेवा विस्तार गरेको जानकारी दिँदै उनले दिवा शिशु स्याहार केन्द्र खोल्नेमा गण्डकी पहिलो प्रदेश भएको दाबी गरिन् । केन्द्रमा पोषणविद् तथा स्वास्थ्य मन्त्रालयको सिफारिसमा पोषणयुक्त खानाको व्यवस्था गरिएको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले प्रदेश सरकार र महानगरको लागत साझेदारीमा सञ्चालित केन्द्रको व्यवस्थापनमा पर्याप्त ध्यान दिने जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ चालिसेले शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहार, शिशुहरूको रेखदेख र स्याहारका लागि सुरूमा ५ जना कर्मचारीको व्यवस्था गरिएको बताए ।

प्रधानाध्यापक तीर्थराज न्यौपानेले स्याहार केन्द्रमा सोमबार ११ जना शिशु भर्ना भएको जानकारी दिए । शिशुलाई निशुल्क भर्ना गरेको भए पनि मासिक रुपमा २ हजार ५ सय शुल्क तिर्नुपर्ने छ । केन्द्रमा ६ महिनादेखि १ वर्ष, १ वर्षदेखि ३ वर्षसम्मका शिशुलाई लागि छुट्टाछुट्टै कोठाको व्यवस्था छ । खानामा उमेरअनुसार पोषिलो खानाको व्यवस्था अलवा झोलुंगो, आराम कक्ष, खेलकुद कोठाको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया