अधिकार विकेन्द्रीकरण हुन जरुरी छ : सभापति देउवा

समाधान संवाददाता २०८१ माघ २१ गते २१:३५

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण बताएका छन् ।

Advertisement

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रममा उनले अधिकार काठमाडौंकाले मात्र नभई देशभरका नागरिकका लागि समान हुनुपर्नेमा जोड दिए । संघर्षको जगमा प्राप्त लोकतन्त्र, संघीयता र समावेशितालाई सुदृढ गर्नका लागि पनि अधिकार विकेन्द्रीकण आवश्यक रहेको उनको भनाइ थियो ।

प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने सभापति देउवाले धारणा व्यक्त गरे । सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे । नेता तथा कार्यकर्ता एकताबद्ध रुपमा संगठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए । उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे । सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए । पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू संकलन गरी पुस्तिकालाई अन्तिम रुप दिने बताए । प्रशिक्षणपछि गुटउपगुटको विपक्षमा लाग्न नेता कार्यकर्ताहरुलाई उनको आग्रह थियो ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया