बगैँचा टोल विकासलाई बिन सहयोग

पोखरा ।
पोखराको बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मलबिन वितरण गरिएको छ । कोइका र युएनडिपीको आर्थिक सहयोगमा मंगलबार ६०/६० थान बिन प्रदान गरिएको हाे ।
मल बनाउन आवश्यक केमिकल पनि प्रदान गरिएको छ । पोखरा महानगरपालिकाको आयोजनामा तथा ग्रीन वेस्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरुलाई बिन प्रदान गरिएको छ ।
ग्रीन वेस्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोस्ट मल बनाउने तरिका र दिगो फोहर व्यवस्थापनका बारेमा सिकाएका थिए । प्रशिक्षक घिमिरेले महानगरका ३३ वटै वडाका सक्रिय टोल विकासकालाई सहयोग गरिने जानकारी दिए ।
बगैँचा टोल विकास सक्रिय भएकाले बिन प्रदान गरिएको पोखरा वडा नं ६ का वडा सदस्य वासु बरालले जानकारी दिए ।
संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सदस्यहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याउने गरेको बताइन् । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार नेत्र भण्डारीले डस्टबिन वितरण कार्यले सफा टोल बनाउन सहयोग पुग्ने बताए ।
अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछानेले घरबाट निस्कने फोहरलाई कम्पोस्ट मल बनाई आय आर्यआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिइन् ।
तपाईको प्रतिक्रिया