घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि

समाधान संवाददाता २०८१ माघ २३ गते २०:४०

पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।

Advertisement

घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले महोत्सव फागुन ७ देखि सुरु हुने बताए । मेश्रम बराह मावि घान्द्रुकको प्रांगणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायत प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक गुरुङले बताए ।

पर्यटकलाई महोत्सव अवधिभर २० प्रतिशत छुट

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवका बेला पर्यटकलाई २० प्रतिशत छुट हुने जानकारी दिए । संयोजक गुरुङका क्लबस्तरीय भलिबल र खुला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउन्डेसन घान्द्रकका संस्थापक एवं महोत्सव संयोजक गुरुङले जानकारी दिए ।

भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६/६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०/१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाइने आयोजकले जनाएको छ ।

Advertisement

महोत्सवमा भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार, उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
‘घान्द्रुकमा हामीले एकैदिन २५ सय पर्यटकलाई राख्न सक्ने होटल तथा होमस्टे सञ्चालनमा छन्,’ अध्यक्ष गुरुङले भने, ‘हामीले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई २० प्रतिशत छुट र खेलाडीलाई ८ सय रुपैयाँको प्याकेज उपलब्ध गराउँछौं ।’
पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटी हुँदै घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी, वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डे हुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक, छोम्रोङ हुँदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

तपाईको प्रतिक्रिया