मनाङमा एचपिभीविरुद्धको खोप फागुन १८ देखि सञ्चालन हुने

समाधान संवाददाता २०८१ माघ २४ गते १२:३७

मनाङ । देशभर माघ २२ गतेदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान मनाङमा तोकिएको समयमा सुरु हुन सकेको छैन ।

कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप दिइने भए पनि जाडो बिदाका कारण लक्षित विद्यार्थी अनुपस्थित रहेकाले मनाङमा खोप अभियान ढिलो सुरु गर्न लागिएको हो । साथै, अत्यधिक चिसोका कारण पनि निर्धारित मितिमा खोप सञ्चालन गर्न कठिनाइ भएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement

मनाङका चामे, नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा फागुन १८, १९ र २० गते खोप अभियान सञ्चालन गरिने जनाइएको छ । तर, नार्पाभूमि गाउँपालिकामा लक्षित विद्यालय उमेर समूहका बालिकाहरू नभएकाले खोप कार्यक्रम सञ्चालन नहुने श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले देशभर फागुन ५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने योजना बनाए पनि मनाङ र मुस्ताङमा यो अवधि लागू हुने छैन । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो खोप अभियान भए पनि मनाङमा लक्षित किशोरीको संख्या १०९ मात्रै रहेको छ । छुटफुट भएकाहरूसमेत समेटेर १५० जनालाई पुग्ने गरी खोपको तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।

Advertisement

मनाङमा यही माघ २८ गतेदेखि जिल्ला स्तरीय खोप योजना तर्जुमा गोष्ठी, खोप कार्यकर्ताका तालिम तथा खोप समन्वय बैठकहरू सञ्चालन हुने जनाइएको छ । विद्यालय बन्द भएकाले तोकिएको समयमा खोप कार्यक्रम सञ्चालन गर्न समस्या भएको र विद्यालय खुलेपछि अभियान सञ्चालन गरिने श्रेष्ठले बताए ।

प्रदेश स्तरको पोखरामा भएको गोष्ठीमा माघ महिनाभित्र खोप दिन नसकिने निष्कर्ष निकालिएको र जाडो कम भएपछि विद्यालय खुलेसँगै अभियान सञ्चालन गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।

मनाङमा जम्मा चारवटा खोप केन्द्र रहनेछन् । जसअन्तर्गत नासोँ गाउँपालिकाको प्रकाशज्योति मावि, चामे गाउँपालिकाको लोकप्रिय मावि, चामेको तिमाङमा रहेको गौरीशङ्कर आधारभूत विद्यालय तथा मनाङ ङिस्याङको अन्नपूर्ण माविमा खोप उपलब्ध हुने जनाइएको छ ।

नार्पाभूमि गाउँपालिकामा लक्षित किशोरी नभएको जानकारी स्वास्थ्य शाखासँगको समन्वयबाट प्राप्त भएकाले त्यहाँ खोप अभियान सञ्चालन नहुने भएको हो । तथापि, खोप आवश्यक पर्ने कुनै बालिका भएमा स्वास्थ्य शाखा र स्वास्थ्य चौकीसँग समन्वय गरेर अभियान सञ्चालन गर्न सकिने श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया