के सिंहदरबार म्याग्दीका मान्छेको पैसाले बनेको थियो ?

बेलायती यात्री र अन्वेषकका रुपमा परिचित कर्क पेट्रिकले सन् १८४९ देखि सन् १८५६ सम्म भारत हुँदै नेपाल तिब्बतसम्मको यात्रा र अन्वेषण गरेका थिए । उनले मुख्यतः नेपालको प्राकृतिक भौगोलिक अवस्था र तिब्बत/चीनसम्मको सांस्कृतिक जनजीवन एवं व्यापार सम्बन्धी अध्ययन गरेका थिए । उनले भारतको कलकोत्ता, नेपालको लुम्बीनी, बागलुङ, गलकोट, बेनी–कोरला नाका हुँदै चीनको राजधानी बेइजिङ (पेकिङ) सम्मको ७५०० किमीको लामो यात्रा गरेका थिए । यस अतिरिक्त उनले नेपाल तिब्बत व्यापार हुने अन्य मार्गहरुका बारेमा पनि यात्रा गरेपछि उनको निष्कर्ष बेनी कोरला हुँदै तिब्बत छिर्ने नाकालाई १२ रै महिना प्रयोगमा ल्याउन सकिने वताएका थिए ।
नेपाल तिब्बत व्यापारको मुख्य ट्रान्जिट पोइन्टको रुपमा बेनी विकसित भइसकेको थियो । यो अवस्था पछि राणाकालीन समयसम्म पनि कायमै थियो । राणाहरुले नेपाल तिब्बत व्यापारको मुल भंसार जाँच अड्डा बेनीलाई बनाएका थिए । व्यापार हरेक बस्तुहरुको भएता पनि बेलायतबाट रेशमी कपडाहरु तिब्बत हुँदै चीन पठाउने र तिब्बती नूनलाई धौलागिरी, गण्डकी, लुम्बिनी क्षेत्र हुँदै भारतमा समेत पठाउन सकिने भएकाले सो मार्गको नाम ‘साल्ट एन्ड सिल्क ट्रेड रोड’ राखिएको थियो । बेलायती उद्योगहरुद्वारा उत्पादित वस्तुहरुको बजार विस्तारीकरण पनि उनको यात्राको उद्देश्य थियो ।
उसबेलाको बेनीको अवस्थिति चाक्लो फराकिलो गलेश्वरदेखि सिंगासम्मको भूभाग, एउटै प्लटमा मिलेर समथर सोतो परेको अवस्थामा थियो भनिन्छ, जुन करा मदन पुरस्कार विजेता चन्द्र प्रकाश बानियाले आफ्नो ‘महारानी’ पुस्तकमा केही मात्रामा झल्काउनुभएको छ भने माथि उल्लेख गरेका कुराहरुलाई अझै विस्तृत रुपमा बागलुङ क्याम्पसका पूर्वप्रमुख रामप्रसाद उपाध्यायले आफ्नो विद्यावारिधि शोधपत्रमा पनि उजागर गर्नुभएको छ ।
बेनीको फराकिलो अवस्थितिलाई पछि माथिको पाखो वा डाँडो भत्केर, पहिरो गएका कारण साँघुरिएको बुढापाकाहरु बताउँछन् । बेनी नगरपालिका वडा नम्बर ६ छापमा रहेको ‘रानीबासे’ भन्ने ठाँउमा रहेको महारानी विश्वप्रभाको निवास स्थल अर्थात दरबार पनि कालान्तरमा माथिबाट आएको पहिरोले पुरिएको थियो । बेनी तिब्बत र भारत हुँदै समुद्रपार व्यापारको महत्वपूर्ण आधार क्षेत्रको रुपमा स्थापित थियो र बेनी हुँदै तिब्बत चीन सम्मको ब्यापारको बागडोर जसरी अहिले महत्वपूर्ण व्यापारिक केन्द्रहरुमा नेवार जातिले सम्हाले जस्तै उस बेलाको बेनी जोमसोम तिब्बत चीन ब्यापारको बाग्डोर ‘थकाली’ जातिहरुको हातमा थियो । व्यापारिक कौशलताका कारण थकालीहरु दरबार वा शासकसँग नजिक पनि थिए जसले स्वभाविक रुपमा राज्यलाई कर तिर्थे र बेला–बेला राज्यलाई अप्ठेरो पर्दा चन्दा सहयोग वा ऋणपनि दिने गर्दथे ।
राणाकालीन समयमा, थकालीहरुको सोझो सम्बन्ध राणाहरुसँग अझै प्रगाढ थियो । त्यसैले त नेपालको पहिलो सरकारी बैंक, नेपाल बैंक लिमिटेड, विराटनगर जुटमिल, बीरगञ्ज चिनी कारखाना लगायत कोलकत्तामा नेपाली झण्डाबाहक पानी जहाज स्थापना गराई उसबेला नै रोजा मचाना ऐन ल्याउनमा थकाली जातिहरुको आर्थिक लगानी सँगसँगै सबैखाले योगदान थियो ।
बेनीको उस बेलाको शान–सौकत देखेर नै, कर्क पेट्रिकले आफ्नो यात्रा वर्णनमा ‘बागलुङ हटिया बेनी सहर’ भन्ने वाक्यांश उल्लेख गरेका छन् । बेनी शहर भन्ने वाक्यांशलाई सायद हाम्रो दरिद्र मानसिकताले पत्याउन गाह्रो पर्ला । थकालीहरुको शासक वर्ग वा दरबारसँगको सोझो सम्बन्ध, सम्पर्क र ‘आर्थिक सारनतारन’ का कारणले टुकुचे अर्थात ‘थाकखोला’ निवासी शेरचन खलकलाई राणाकालीन समयमा ‘दरबारिया सुब्बा’ को अलंकार दिइएको थियो, त्यसैलाई ‘सुब्बांगी’ भनिन्थ्यो ।
‘सरकार, मसँग धेरै पैसा त छैन, एक प्रहर कालीगण्डकी थुन्नेसम्म होला, मर्जी हुन्छ भने टक्र्याउँला नि हजुर !’ भनी चन्द्र शमशेर समक्ष कुरा राख्ने व्यक्ति को थिए ?
आफ्नो गौरवमय इतिहास, परम्परा र क्षेत्र विशेषको विरासतलाई लुकाउने, दबाउने, केवल दरिद्रता र अनिकालको भजन गाउन सिकाएर हामीले युवापुस्तालाई महत्वपूर्ण सपनाबाट बिमुख मात्र तुल्याएनौं कि उनीहरुको दिमागमा सामान्य कल्पना सम्म पनि गर्न नसक्ने बनाईदियौं वा दरिद्रता र अनिकालकै वातावरणमा रमाउन दीक्षित गर्यौं । क्रिश्चियन मिसेनरीबाट प्रभावित दलालहरुले जो आफ्नो क्षेत्रको इतिहास र परम्पराबाट पथभ्रष्ट तुल्याएर त्यस्तै दरिद्र जनशक्ति उत्पादन गर्न चाहन्छ, तीनिहरुकै दिक्षा र प्रेरणाबाट ओतप्रोत भएको युवा जनशक्तिले आफ्नो इतिहास र परम्परा के हो भनेर जान्ने, बुझ्ने वा खोतल्ने चेष्टा सम्म नगर्नु स्वाभाविकै पनि हो ।
धौलागिरी क्षेत्रभन्दा इतरको मान्छेले, सिंहदरबार बनाउँदा, चन्द्र शमशेरले बेनीको पैसा ल्याएर बनाएका हुन रे भनी हाम्रो क्षेत्रको गर्व वा प्रतिष्ठा र ऐतिहासिक विरासतलाई उजागरमात्र गरेको देखेपछि म र म जस्तो सयौं लफंगो जनशक्ति उक्त व्यक्तिलाई हँसीमजाक मा उडाउने, अश्लिल गाली गलौज दिने, गाँजा वा जाँड खाएर बेसुरमा बोलेको भन्ने उपमा दिने प्रवृत्तिले हाम्रो बौद्धिक स्तर, मूल्यांकन क्षमता र हामीलाई दीक्षित प्रशिक्षित गराउने ‘कमाउनिस्ट’ हरुले पश्चिमा क्रिश्चियनहरुको बलमा इतिहास र परम्परा मेटाउन लगाएको बल वा षडयन्त्र हो भनी सहजै अनुमान लगाउन सकिन्छ ।
कुनै एउटा ‘युट्युबर’ जसले सिंहदरबार म्याग्दीको मान्छेको पैसाले बन्यो भनेर सत्य कुरा ओकलेको विषयलाई अरुले त बरु सम्मानका साथ हेरेको देखियो तर हामी म्याग्दीबासी हौं भन्ने केही कृतघ्न, रुग्ण वा दलालहरुबाट दीक्षित प्रशिक्षितहरुले हाँसी मजाक गर्नुको अर्थ, औचित्य वा उद्देश्य के हो? यसरी आफ्नो इतिहासलाई पनि केबल दरिद्रता, अनिकाल वा दास प्रवृत्तिमा सीमित राख्न हामी न्वारन देखिकै बल लगाएर उभिन्छौं भने हामी आफू र हाम्रा सन्ततिहरु कहिल्यै पनि दरिद्रता र दास प्रवृत्तिबाट माथि उठ्न सक्लान् ?
कुनै समाजको ऐतिहासिक वा सांस्कृतिक धरोहरले संघर्ष, उपलब्धि वा पहिचानसँग हामीलाई नजिक बनाउँछ । यही पहिचानले भविष्यमा हामीलाई मार्ग दर्शन र प्रेरणा दिन सिकाउँछ । पुर्खाको संघर्ष, उपलब्धी र गौरवलाई हाँसी मजाकमा उडाएर केबल दरिद्रता र अनिकालको पाठ घोकाउने, पढाउने र समाजलाई नै अनिकाल तर्फ धकेल्नेहरुले युवाशक्तिलाई अरुको डाह, इष्र्या र नोक्सानी पु¥याउनमा दुरुपयोग गरिरहेको छ, सामान्य रोजिरोटी चलाउन मेहेनत होइन मुखमा टालो बाँधेर लुट्न सिकाउने प्रवृत्तिको परिणाम आज हाम्रो युवा पुस्ता आफ्नो सारभूत र गौरवपूर्ण इतिहास बंग्याउन प्रयोग भइरहेको छ । यसको सबभन्दा बढी जिम्मेवारी दरिद्र वा अनिकाले कमाउनिष्ट प्रवृत्तिले लिनुपर्छ ।
इतिहासलाई नकार्ने, सराप्ने वा यथार्थतालाई हँसीमजाकमा उडाउने प्रवृत्तिले मानिसलाई सिर्जनशील होइन केवल ध्वंसात्मक वा नकारात्कम बन्न सिकाउँछ । यसले हामीहरुको सामाजिक एकता र सशक्ततालाई पनि खल्बल्याउँछ, समाजको आत्मविश्वास वा दीगोपनमा ह्रास ल्याउने काम गर्दछ । इतिहास भनेको भविष्यको आकार वा मार्ग पनि हो । इतिहासको बलले हामी म्याग्देलीहरुलाई भविष्यमा पनि सिंहदरबार जस्तो प्रशासनिक अड्डा खडा गर्ने, सो अड्डालाई प्रभावित तुल्याउने गरी आफ्ना विचार र दृष्टिकोण पनि पस्कन सक्ने भावि पुस्ता उत्पादन गर्न प्रेरणा दिने हो या कुनै दलाललाई म्याग्दी ठग्न सघाउन, कुनै दलालले दयामायाले दिएको बासी भात खाएर बजार तताउन प्रयोग हुन वा लफंगो युवा जनशक्ति तयार गर्न सघाउने हो? जुन कुरा तपाई हामीहरुकै हातमा छ ।
जहाँसम्म म्याग्दीको मान्छेको पैसाले चन्द्रशमशेरले सिंहदरबार बनाएको भन्ने सवाल छ, त्यसमा धौलागिरी क्षेत्रका वन पाखाहरुमा कुनै जमानामा गुञ्जने यानीमाया गीतको यो टुक्काले के भन्न खोजेको हो ? पुराना बुढापाकाहरुलाई सोध्नुहोला, –‘………………… सिंहदरबार झलमल पतिरामको धनले………. ।’ यो गीतको बोलले भन्न खोजेको के हो? पतिराम भन्ने मान्छे को हुन्? उनको धनले सिंहदरबार झलमल्ल कसरी बन्यो होला? ‘सरकार, मसँग धेरै पैसा त छैन, एक प्रहर कालीगण्डकी थुन्नेसम्म होला, मर्जी हुन्छ भने टक्र्याउँला नि हजुर !’ भनी चन्द्र शमशेर समक्ष कुरा राख्ने व्यक्ति को थिए ?
आफ्नो क्षेत्रको पुरानो विरासतलाई जान्ने, बुझ्ने वा सोध्ने सम्मको प्रयास वा प्रयत्नमा नगइकन आफ्नो गौरवपूर्ण इतिहासलाई हाँसो मजाकमा उडाउने प्रवृत्ति वा योग्यता भएका हामीहरुको बौद्धिक स्तर वा सोचन क्षमता कति सम्म तल झरेको रहेछ भन्ने प्रष्ट देखिएको छ । यसको कारक तत्व पनि हामी आफै हौं । हामीले हाम्रा सन्ततिहरुलाई महानताको सपना कहिल्यै देखाएनौं । हामीले देखाएको सपनाले हाम्रा सन्ततीहरु केबल दरिद्र र अनिकालको शिकार हुन पुगे जसले गर्दा उनीहरुको मानसिकताले म्याग्दीले सिंहदरबारलाई ऋण दिन सक्छ भन्ने कुरा कल्पना सम्म पनि गर्न सकेन । यसका लागि जिम्मेवार हामी सबै छौं तर सबभन्दा बढि जिम्मेवार ती व्यक्ति वा समुहले लिनुपर्छ जसले युवाहरुलाई उग्रतामा रमाउन, अरुको इज्जत प्रतिष्ठामाथि डाह र इष्र्या गर्न, ऐतिहासिक तथ्यलाई बंग्याएर प्रस्तुत गर्न सिकाए ।
नलुकाइकन भन्नु पर्दा यो उग्र सोचको बिजारोपण गर्नेहरु कम्युनिस्ट नै हुन् । युवाहरुको मानसिकतामा विजारोपण गरेको यही दरिद्रता र अनिकालको अंकुरणका कारण आफ्नै गौरवमय इतिहासलाई विर्सने अवस्थामा हामी पुग्यौं । अन्त्यमा, यो त सानो उदाहरण मात्र हो । म्याग्दीको बेनीलाई ऐतिहासिक रुपमा देश विदेशमा चिनाउन र गर्व गर्न लायक धेरै कुराहरु छन् जसलाई हामीले युवा पुस्ताहरुका बीचमा उदाहरणका रुपमा प्रस्तुत गरेर भविष्यको मार्गदर्शकका रुपमा लिन सक्छौं । त्यसका बारेमा चिन्तन, छलफल, शोध, अनुसन्धान र विमर्श हुन जरुरी छ । त्यसलाई एकातर्फ पन्छाएर हल्का टिप्पणी गर्न लाग्नु हुँदैन । सबैमा चेतना भया ! बाँकी अर्को अंकमा क्रमश…।
(म्याग्दीको बेनी नगरपालिकाका बासिन्दा शर्मा कानुन व्यवसायी हुन्, हाल उनी गण्डकी प्रदेशका मुख्यमन्त्रीको कानुनी सल्लाहकार अर्थात मुख्य न्यायाधिवक्ता छन्, तर यो उनको निजी विचार हो)
तपाईको प्रतिक्रिया