विजय कृष्णमुर्तिको समाधानलाई पत्र: गलत मनाशय छैन, मात्र सेवा गर्ने उद्देश्य छ

राधे राधे हजुर🙏
म वालयोगेश्वर विजय कृष्णमूर्ति । अहिले गण्डकी कोटिहोमको सन्दर्भमा पोखरामा छु । आउँदो मिति २०८२ वैशाख १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म आयोजना हुने ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को यहाँलाई विशेष निमन्त्रणा गर्दछु । हजुरको केहि जिज्ञासा र प्रतिक्रियाहरु पाए । त्यसै क्रममा हुन सक्छ, हाम्रा कुराहरू बुझाउने क्रममा केही कमी रह्यो वा हजुरले भिन्न रूपमा बुझ्नुभयो। यदि कुनै असमझदारी भएमा स्पष्ट गर्न चाहन्छु। हजुरका मूल्यवान विचारहरूको सम्मान गर्दै खुला संवाद गर्न तत्पर छु। हजुरले केवल हल्लाको पछाडि नलागि सत्य तथ्य एकपटक बुझिसेला ।
हामी विशुद्ध धार्मिक, सामाजिक र पुनित कार्य गर्न आएका हौं । हामीबाट सञ्चालित संस्था र कर्महरुबारे यहाँले बुझ्न सक्नुहुनेछ । सहाराबिहीन भएकै कारण कसैले बेसाहारा हुनु नपरोस्, कोही भोकै नबसोस्, कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित नहोस्, अभिभावक बिहीन भएकै कारण कसैको बाल्यकाल नखोसियोस् र आधारभूत आवश्यकता समेत नखोसियोस साथै भविष्य निमार्णमा कुनैपनि किसिमको बाधा नपरोस् भन्ने संकल्प लिएर मानव सेवा फाउन्डेसन, मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, छोरीको घर ज्येष्ठ नागरिक आश्रम लगायत दर्जनौं सामाजिक कार्यमा आवद्ध संस्थाहरु सञ्चालित छन्।
मामाघर अनाथ आश्रम ललितपुरमा देशभरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म विभिन्न जिल्लाबाट ८३ जना बालबालिकाहरु हुनुहुन्छ । जसमा विभिन्न कारणले अभिभावक गुमाउनु भएका गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाबाट बञ्चित हुनुभएका एकदम विपन्न परिवारका बालबालिकाहरु आएर आश्रममा आश्रीत भई ललितपुरका विभिन्न विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।
प्रत्येक बच्चाले स्वच्छ पौष्टिक भोजन, स्नेहरुपी घर, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र भावनात्मक समर्थन पाउनु पर्छ भन्ने दृढ विश्वास लिई अभिभावक विहिन, अनाथ तथा आधारभूत आवश्यकताबाट बञ्चित बालबालिकाहरुलाई आत्मविश्वासी र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्ने स्वतन्त्र व्यक्ति बन्न सशक्त बनाउने उद्देश्य लिई सुरक्षित वातावरण प्रदान गर्ने, हुर्काउने र सफल बनाउने दिशामा मामाघर अनाथालय आश्रम समर्पित छ।
त्यस्तै गरी भक्तपुरमा अवस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रम साहारा विहिन, अशक्त, गास, बास, कपास, स्वास्थ्य र सुरक्षाबाट वञ्चित ज्येष्ठ नागरिक आमाबुवाहरुलाई गास, बास, कपास, स्वास्थ्य र सुरक्षा प्रदान गर्दै आमाबुवाको साहारा बनेको छ । काम गर्दै जाँदा कति ठाउँहरुमा हाम्रो तर्फबाट पनि त्रुटिहरु भए होलान् । त्रुटि औल्याईदिने यहाँहरु जस्तो अग्रज व्यक्तित्वहरुलाई नमन् । त्रुटिहरु पहिचान गरी सुधार गर्दै अगाडि बढ्ने अवसर प्राप्त भएको छ । जसलाई पुनः सोही त्रुटि नदोहोरिने गरी भविष्यमा अझ राम्रो सँग कामहरु गर्दैजाने प्रण पनि गर्दछु ।
पीपल वृक्ष कटान सम्बन्धमा हवनकुण्डका लागि समिधा संकलन गर्ने क्रममा पहिल्यै कटानभइ सडक छेउमा रहेका रुखहरुलाई महानगरको अनुमति लिई हामीले संकलन गरेका थियौं र केहि थप आवश्यक समिधाको लागि कटान गर्न लागिएका वृक्षहरुको जानकारी प्राप्त गरी फाउण्डेसन टिम सम्बन्धित निकाय तथा स्थानीय सँग समन्वय गर्न गएको थियो ।
उक्त समयमा म पोखराबाहिर भएता पनि साथीहरु सँग निरन्तर संवाद थियो नै। टोल विकास संस्थाले तारमा छोएको हाँगा हटाउन पहिले नै निर्णय गरिसकेको थियो। साथै, वडा कार्यालयले पनि प्रहरी प्रशासनको समन्वयमा पहिल्यै अनुमति प्रदान गरिसकेको थियो। सोही अनुसार नै समिधा संकलन गरिएको हो।
वडा कार्यालय, वडा सदस्य, टोल विकास समितिका पदाधिकारीज्यूहरू, स्थानीय आमा समूह, त्यहाँका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको रोहवरमा र विद्युत कार्यालयका कर्मचारीज्यूहरूको उपस्थितिमा विद्युत अवरोध गरेका रुखरुहरूका हाँगा कटान गर्ने भन्ने थियो।
हाँगाहरूले विद्युतको तार छोएको र भोलिका दिनमा ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको कारणले सो निर्णय लिईएको थियो । हामीलाई समिधा चाहिएको र हाँगा छेक्नुपर्ने संयोग एकैचोटि पर्नगएको थियो। श्री मानव सेवा फाउण्डेसनले कुनै पनि रुख विना समन्वय नकाटेको र अन्य समुहहरुद्वारा काटिएका रुखहरुलाई स्थानीयको समन्वयमा ल्याइएको हो ।
गण्डकी कोटिहोमको लागि अहिले सम्म यो क्षेत्रमा कसैलाई पनि १ रुपैंया समेत नमागिएको र आर्थिक संकलन गर्ने लक्ष्य पनि नभएको जानकारी गराउन चाहान्छु । यदि स्व ईच्छाले कसैले दान दिनुभएमा पोखरा– १८, सिमपानी स्थित कैलाश धाम शिवमणि मन्दिर तथा पोखरा – ६, बैदाम स्थित मुक्तेश्वर शिव मन्दिर मुक्तीधामको सर्वाङ्गिण विकासको लागि सहयोग गर्ने योजना बनाएको छु ।
हल्ला, अफवाह, आरोप, प्रत्यारोपको पछाडि नलाग्नु भई सत्य, तथ्य बुझेर गल्ति भएको स्थानमा मार्ग निर्देशन गराउँदै यहाँको साथ, सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दछु । समय मिलेमा प्रत्यक्ष रुपमै हजुरसँग भेटघाट गरी यस विषयमा थप जानकारी गराउने र भेटघाट हुन नसकेको अवस्थामा फोन सम्पर्क मार्फत छलफल गर्ने भनिसिन्छ भने पनि म तत्पर छु । जे जति बाहिर समाचार र सामाजिक सञ्जालहरुमा हामी विरुद्ध जतिपनी प्रचार भएका छन् ति सबै सत्य नभएको र यथार्थ भन्दा बाहिर रहेको यहाँलाई प्रष्ट पार्न चाहान्छु ।
यहाँले यथार्थलाई बुझ्नुहुनेछ भन्ने आशा, भरोसा र पूर्ण विश्वास राखेको छु।
हजुरबाट यस सन्देशको प्रतिक्रियाको प्रतीक्षा गरेको छु। यदि मेरा कुनै शब्दहरूले हजुरलाई असहज वा चोट पुर्याएको भए त्यसप्रति क्षमाप्रार्थी छु। हजुरको मूल्यवान विचार र सुझावको सदा सम्मान गर्दछु।
तपाईको प्रतिक्रिया