नेपाली अर्थतन्त्र र विकासमा केन्द्रित गोष्ठी सम्पन्न

पोखरा ।
विद्यार्थीहरूमा खोज तथा अनुसन्धानका माध्यमबाट वैयक्तिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा आदर्श सेकन्डरी स्कुल, बगर–१, पोखराले ‘समकालीन नेपाली अर्थतन्त्र र विकास’ शीर्षकमा दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न गर्यो । सो गोष्ठीमा ३० जना विद्यार्थीहरूले दृश्य सामग्रीसहित आधुनिक प्रविधिको उपयोग गरी आफ्ना प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
कार्यशाला गोष्ठीका परिकल्पनाकार एवम् निर्देशक नारायण न्यौपानेका अनुसार यस प्रकारको विद्यार्थीहरूको सक्रिय सहभागितामा हुने नवीनतम सिकाइ अभ्यासले उनीहरूको बुझाइ दिगो हुने भएकाले स्कुलले यस्तो कार्यक्रम आयोजना गरेको हो ।
प्रदिप सुनारको नेतृत्वमा तुलसी रिमाल, रितु अधिकारी, जमुना ठडराई र अनिशा पाध्यायले ‘नेपालको अर्थतन्त्र र विकास – एक अध्ययन’ शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए । उक्त समूहले अर्थतन्त्रको परिचय दिँदै विश्वमा रहेका विभिन्न अर्थ व्यवस्थाहरू, आर्थिक वृद्धि, विकासका सूचकहरू र नेपालको अर्थतन्त्रसम्बन्धी विविध विषयमा प्रस्तुति राखेका थिए ।
त्यसै गरी सलिना जैसीको नेतृत्वमा सुजन अधिकारी, मोहित गिरी र दीर्घबहादुर नेपालीले ‘नेपालको विदेश नीति तथा नेपाल–भारत र नेपाल–चीन सम्बन्ध’ शीर्षकमा आफ्नो प्रस्तुति दिए । उनीहरूको प्रस्तुतिले नेपालको विदेश नीति, त्यसका आधारहरू, नेपाल– भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध तथा दुई देशबीचको सामाजिक, आर्थिक तथा राजनीतिक सम्बन्धको विश्लेषण गरेका थिए ।
राहुल परियार, आयुषा बास्तोला र आयुषा अधिकारी सहभागी रहेको रोहित कुवरको नेतृत्वमा ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध’ शीर्षकमा आफ्नो प्रस्तुति दिए । उक्त समूहले नेपालको विगतदेखि वर्तमानसम्मको अन्तर्राष्ट्रिय सम्बन्धबारे चर्चा गरेका थिए ।
शुसान्क बास्तोलाको नेतृत्वमा घनश्याम लामिछाने, सुदीप बिके र उत्सव पौडेलले ‘नेपालको वैदेशिक व्यापार’ शीर्षकमा आफ्नो धारणा राखे । उक्त समूहले नेपालको वैदेशिक व्यापारको इतिहास, संरचना र वर्तमान परिस्थितिबारे चर्चा गरे ।
पाँचौं समूहले नेपालको वैदेशिक रोजगार नीति सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । यस समूहले श्रमिकको परिभाषा, श्रमशक्तिको अवधारणा, रोजगारी तथा बेरोजगारी, वैदेशिक रोजगार नीति तथा नेपालले अपनाएका नीतिगत व्यवस्थाबारे उल्लेख गरेका थिए । ‘नेपालको वैदेशिक रोजगार नीति’ शीर्षकमा उमा रानाको नेतृत्वमा निशान सुवेदी, सुनित शाही र रोजिता लामाले प्रभावकारी प्रस्तुति दिएका थिए ।
छैटौं समूहले आर्थिक वृद्धि, मानव विकास र दिगो विकासबारे चर्चा गरे । बिजय पुनको नेतृत्वमा मनिषा कडेल र सुशील शर्मा सहभागी रहेको यो समूहको प्रस्तुतिको शीर्षक ‘आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा’ थियो । यो समूहको प्रस्तुतीकरणलाई ३ सदस्यीय निर्णायक मण्डलले उत्कृष्ट ठहर गर्दै नगद पुरस्कार प्रदान गरियो । विजय पुनले भने, ‘हाम्रो टिममा सामूहिक भावना थियो । विषयवस्तुलाई उदाहरणसहित प्रस्तुत गरेकाले सायद हामीले यो पुरस्कार जित्यौं ।’
‘नेपाली गरिबी चक्र र सम्बोधनका उपायहरू’ शीर्षकमा सुशील भण्डारीको नेतृत्वमा निकिता केसी, दिपेश तिमिल्सिना, दिपा हमाल र सुशान्त सुनारले अन्तिम प्रस्तुति दिएका थिए । उक्त समूहले गरिबीका प्रकार, गरिबीको रेखा, नेपालमा गरिबीको अवस्था र यसलाई सम्बोधन गर्ने उपायहरुबारे चर्चा गरे ।
उक्त कार्यशाला गोष्ठीमा अर्थशास्त्र तथा सामाजिक अध्ययनका विषय विज्ञहरू भोलानाथ अर्याल र कुशल तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । अर्यालले शिक्षण प्रक्रियामा अनुसन्धानात्मक शिक्षण पद्धति साँच्चै प्रभावकारी र अनुकरणीय रहेको महसुस गरेको बताए । तिमिल्सिनाका अनुसार, ‘यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई सबै प्रकारका सीप र विषयवस्तुबारे गहिरो ज्ञान प्रदान गर्छ ।’
गोष्ठीमा उत्कृष्ट प्रस्तुति दिने प्रदिप सुनार, सुशील भण्डारी र रोहित कुवरलाई एक÷एक जोर कोट, सर्ट र प्यान्ट पुरस्कारस्वरूप प्रदान गरियो । त्यस्तै, रितु अधिकारी, उमा मगर, अनिशा पाध्याय, आयुषा बास्तोला, सलिना जैसी, आयुषा अधिकारीले फोटोसुट तथा फोटो फ्रेम पुरस्कारस्वरूप प्राप्त गरे । सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नारायण न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको सञ्चालन विद्यालयका उपप्राचार्य एवं लोकगायक ज्ञानेश्वर सुवेदीले गरेका थिए ।
तपाईको प्रतिक्रिया