धार्मिक पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोटमा महायज्ञ

समाधान संवाददाता २०८१ फागुन २ गते २०:१६

पोखरा । कैलाशधाम निर्माणको परिकल्पनाका साथ पोखरा २२ पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री महिमा २०८१ गर्न लागिएको छ । पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइ लम्बाउन तथा विशाल महादेवको मूर्तिमा लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने संरचना निर्माण गर्न फागुन ७ देखि १५ गतेसम्म महायज्ञ गर्न लागेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

महायज्ञमा अन्तर्राष्ट्रिय पुराण बाचक राधिका दासीले प्रवचन गर्ने कार्यक्रम छ । ‘पोखरा आउने पर्यटकको बसाइ १ दिन लम्बाउन, शिवतत्वको बारेमा जानकारी दिन महायज्ञ गर्न लागिएको छ,’ अध्यक्ष बरालले भने, ‘महायज्ञबाट संकलित रकमबाट साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीला सहितको वृत्तचित्र प्रस्तुतिका लागि आवश्यक संरचना निर्माण गरिनेछ ।’

अध्यक्ष बरालले कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि शिसाको पुल निर्माण, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यानमा इको साउन्ड नियन्त्रण लगायतका संरचनाको रणनीतिक लक्ष्य राखी महायज्ञ गर्न लागेको बताए । समितिले यसअघि २०७३ र २०७९ मा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव गरेर ५१ फिट अग्लो महादेवको विशाल मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेव विशाल क्षेत्र कुण्ड (गंगापोखरी) १०८ स्वर्गद्वारी सिंढी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, अन्तर्राष्ट्रिय ध्यान केन्द्र लगायतका संरचना निर्माण भइसकेका छन् ।

Advertisement

अब गर्ने ज्ञान महायज्ञबाट संकलित दानबाट प्रशासकीय भवनभन्दा तलको खाली जग्गामा हरियाली उद्यान निर्माण गर्ने लक्ष्य छ । समितिले पुम्दीकोट जाने मुख्य प्रवेशद्धारको रुपमा रहेको छोरेपाटन, फलेटे र तिलाहार लगायतका स्थानमा शिवधामको झल्को दिलाउने कलात्मक प्रवेशद्वार निर्माण गर्ने योजना अगाडि सारेको छ । महायज्ञको दानबाट संकलित रकमबाट शान्तिस्तूप, पुम्दीकोट, फाल्हाल्ने पोखरी, देउराली मन्दिर हुँदै भुम्दीकोट भएर थाप्ले टाइगर हिलसम्म धार्मिक पर्यटकीय पदमाग निर्माण गर्ने अध्यक्ष बरालले जनाए ।

‘समृद्धि, विकास, बेरोजगार र विदेश पलायन हुनेहरुको लागि निकास’ भन्ने दीर्घकालीन लक्ष्यसहित गर्न लागेको महायज्ञले ऐतिहासिक एवं धार्मिक महत्वको पुम्दीभुम्दी क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ । महायज्ञबाट संकलित दानबाट मूल मूर्तिको मर्मत सम्भार लगायतका अधुरा कामलाई सम्पन्न गर्नुका अलवा पुम्दीकोट कोट विकास समितिको संशोधित विधान २०८१ ले तय गरेका उद्देश्यलाई योजनाबद्ध ढंगले काम गर्ने योजना अगाडि सारिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया