पोखराको नयाँबजारमा वाणिज्य बैंकको भवन उद्घाटन

समाधान संवाददाता २०८१ फागुन ३ गते १९:१७

पोखरा । पोखराको नयाँ बजारमा राष्ट्रिय वाणिज्य बैंकले सुविधा सम्पन्न नयाँ भवन बनाएको छ । २३ करोड ४६ लाखको लागतमा गण्डकी प्रादेशिक कार्यालय र शाखा कार्यालय पृथ्वीचोकको भवन बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रमण खनालले जानकारी दिए ।

Advertisement

नेपाल सरकारको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार भवन उद्घाटन गरे । २२ करोड १६ लाखमा बनेको भवनको भित्री व्यवस्थापनका लागि थप एक करोड ३२ लाख खर्च भएको छ । लिफ्‌टसहितको छ तले भवनबाट ग्राहकलाई सुलभ तवरले आधुनिक बैंकिङ सेवा दिने लक्ष्य बैंकले लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले गण्डकी प्रदेशमा २२ अर्ब लगानी गरेको बताए ।

गण्डकी प्रदेशका ११ जिल्लामा वाणिज्य बैंकका ३२ शाखा छन् । बैंकले थप दुई शाखा चाँडै सञ्चालन गर्ने योजना बनाएको छ । अर्को वर्ष तीन शाखा खोलेर प्रदेशमा ३७ शाखा पुर्‍याउने खनालले जानकारी दिए । ‘बैकले सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने योजना बनाएको छ,’उनले भने, ‘एक प्रदेश, एक विशेष कार्यक्रम अन्तर्गत गण्डकीमा फलफूल खेतीलाई विशेष जोड दिएका छौं ।’ उनले कृषि, ऊर्जा, पर्यटन, विपन्न वर्ग कर्जा लगायतका सरकारका प्राथमिकताको क्षेत्रमा लगानी गरेको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले वर्तमान सरकारले लिएको आर्थिक नीति र मौद्रिक नीतिका कारण अर्थतन्त्रमा सुधार देखिएको दाबी गरे । उनले नेपालको आर्थिक बृद्धिदर ३ दशमलब ८७ प्रतिशत पुगेको उल्लेख गरे । ऐतिहासिक रुपमा बैंकको व्याजदर न्यूनतम भएको दाबी गर्दै उनले बैकको कर्जा प्रवाह विस्तार भएको चर्चा गरे । उनले उत्पादन र भौतिक पूर्वाधार क्षेत्रमा सुधार गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रतिनधिसभा सदस्य दामोदर पौडेल, वैरागी, बैँकका सञ्चालक लक्ष्मण घिमिरे, गण्डी प्रदेशसभा सदस्य प्रकाश बराल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दिपकराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले नेपालको आर्थिक क्षेत्रको अवस्थाको अवस्था र बैंकले गरेका प्रयासको बारेका बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया