सम्पादकीय–रसायनलाई खेलाची नसोचौं

पोखरा भ्रमण वर्ष २०२५को औपचारिक घोषणा सभामा प्रयोग भएको स्पार्किङ लाइटको झिल्काले बेलुनमा विस्फोट हुँदा पोखरामा असामान्य घटना भयो । पोखरा महानगरपालिकाले आयोजना गरेको औपचारिक समारोहमा व्यवस्थापनमा ध्यान नदिँदा स्पार्किङ लाइटको सानो झिल्कोले ‘पोखरा भ्रमण वर्ष २०२५’ लेखिएका नीला र राता बेलुनहरु ठूलो आवाजसहितको विस्फोट गरायो ।
कार्यक्रमको डिजिटल रुपमा उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरु विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भए । पोखराबाट दुबैलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुर अस्पताल लगेर सघन कक्षमा उपचार भइरहेको छ । सामान्य उत्सवको माहोल थियो—बत्तिहरु झिलिमिली थिए, बेलुन रंगिएका थिए । तर अचानक, एउटा स्पार्किङ लाइटले बेलुनलाई छोयो, र आगोको लप्काले माहोल नै भयावह बनायो ।
हाइड्रोजन एक अत्यधिक ज्वलनशील ग्यास हो । यो हावामा अक्सिजनसँग मिसिएमा सजिलैसँग आगो लाग्न सक्छ । बेलुन फुट्ने वा चिसो हुने अवस्थामा पनि आगलागीको खतरा बढ्न सक्छ । बेलुनमा हाइड्रोजन ग्यास प्रयोगको जोखिम हुने सो घटनाले पाठ सिकाएको छ । घटनापश्चात् हाइड्रोजनको सट्टा हिलियम ग्यासको प्रयोग बढाउनु पर्ने देखिएको छ । जसलाई सुरक्षित ग्यास मानिन्छ । हाइड्रोजन ग्यासले भरिएको बेलुन ठूलो दबाबमा रहन्छ । यदि बेलुन फुट्यो भने वा ग्यास लिक भयो भने विस्फोट हुने सम्भावना हुन्छ, जसले आसपासका व्यक्तिहरूलाई गम्भीर चोटपटक लाग्न सक्छ । हाइड्रोजनले भरिएको बेलुनबाट ग्यास लिक भएमा मानिसहरूको सासमार्फत उनीहरूको फोक्सोमा पुग्न सक्छ । जसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्न सक्छ ।
अप्रत्याशित रुपमा भएको घटनाले सबैलाई गम्भीर र सतर्क बन्न सिकाएको छ । अबदेखि सार्वजनिक समारोहमा कस्तो रासायनिक पदार्थहरूको प्रयोग गर्ने भन्ने विषयमा सबै गम्भीर बन्न पर्ने भएको छ । यस्ता घटनाहरूको दोहोरिन नदिनको लागि सरोकारवाला निकाय सचेत र सजग बन्न पर्छ । हाइड्रोजन ग्यास प्रयोगमा कहाँ गर्ने, कतिबेला गर्ने मापदण्ड बनाउन आवश्यक छ ।
सार्वजनिक स्थलमा बिजुलीका उपकरण र झिलिमिली बत्तीहरू सुरक्षित प्रयोग गर्नुपर्छ । विद्युतीय उपकरणबाट हुने स्पार्किङले यस्तो दुर्घटना निम्त्याउन सक्ने भएकोले आयोजक पक्षले आवश्यक सुरक्षाका मापदण्ड अनिवार्य लागू गरिनुपर्छ । मेला, महोत्सव, वा अन्य सार्वजनिक कार्यक्रममा अग्नि सुरक्षा उपकरणहरु आगो निभाउने उपकरण, प्राथमिक उपचार टोली, र सुरक्षाकर्मीको व्यवस्था गर्नु पर्छ ।
पर्यटकीय राजधानी पोखरा लगायतका प्रमुख शहरमा जलनका बिरामीलाई उपचार गर्न अस्पताल बन्न आवश्यक छ । अहिले भएका अस्पतालमा पनि उपचारको क्षमता बढाउने, आपतकालीन उपचार र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन ध्यान दिन पर्छ । त्यसका लागि संघ, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर समय सापेक्ष अत्याधुनिक उपचार सेवाको लागि आवश्यक स्रोत सुनिश्चित गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया