प्रतिभा माविमा पुरस्कार वितरण

पोखरा ।
पोखराको पालिखेचोक स्थित प्रतिभा माविले वर्षभरि आयोजना गरेका विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई मंगलबार पुरस्कृत गरेको छ । वर्षभरि भएका खेलकुदका आन्तरिक गतिविधि, विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन, फुड फेस्टिबल लगायतका गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
उत्कृष्ट विद्यार्थीहरुलाई सिल्ड, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल, प्राचार्य विद्यालयका प्राचार्य किरण सापकोटा लगायतले पुुरस्कार प्रदान गरेका थिए । प्राचार्य सापकोटाले प्रतिभाले वार्षिक क्यालेन्डर अनुसार कार्यक्रम गर्दै आएको बताए ।
विज्ञान प्रदर्शनीमा ३ सय ५० भन्दा बढी सिर्जनात्मक सामाग्री बनाएर प्रदर्शनीमा राखिएको थियो । ‘आफैंमा नौलो काम विद्यार्थीले गरेका थिए । विज्ञानको क्षेत्रमा नयाँ उपकरण बनाएर विद्यार्थीले प्रदर्शनीमा राखेका थिए, त्यसले उनीहरुमा खोजीको दायरा फराकिलो बनाएको थियो,’ सापकोटाले भने । बिजनेस प्लान प्रेजेन्टेसनमा २१ प्रोजेक्ट तयार पारी विद्यार्थी आफैंले प्रस्तुत गरेका थिए । होटल व्यवस्थापन समूहले फुड फेस्टिबल आयोजना गरेको थियो ।
‘दसंै–तिहारको बीचमा नियमित गृहकार्य बाहेक माथि उठेर विभिन्न सिर्जना तयार पारेका थिए । त्यसले विद्यार्थीलाई दख्खल बनाएको छ,’ उनले भने । बिजनेस प्लान प्रेजेन्टेसनमार्फत विद्यार्थीमा व्यावसायिकताको सम्भावना उजागर भएको उनले बताए । होटल व्यवस्थापन समूहले आयोजना गरेको फुड फेस्टिबलमार्फत कुनै पनि कार्यक्रम आयोजना गर्नेदेखि अन्तिम हिसाबकिताब तयार पार्नेसम्मको अभ्यास गराइएको उनले बताए ।
विद्यालयले वर्षभरि आयोजना गरेका खेलकुदका गतिविधिमा उत्कृष्ट बनेका टिमलाई पनि यही अवसरमा पुरस्कृत गरिएको थियो । ‘विद्यालयमा हुने गतिविधि आफैंमा प्रतिस्पर्धात्मक हुन्छन् । उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाइ पुरस्कर दिएको छ । यस्ता गतिविधिले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने अवसर दिलाउँछ,’ सापकोटाले भने, ‘यस्ता प्रतिश्पर्धात्मक प्रतियोगितामा कि त जित हुन्छ वा सिकाइ हुन्छ ।’ प्रतिभाले लगातार ३ वर्ष हिसानको अवार्ड हात पारेर सिल्ड कब्जा गरेर विद्यालयको पहिचान झनै उच्च बनाएको पनि प्राचार्य सापकोटाले बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यालयले विद्यार्थीको प्रगतिका लागि फरक फरक शैलीका कार्यक्रमलाई निरन्तरता दिएको बताए । आगामी दिनमा विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने उनले बताए ।
‘विद्यालयले विद्यार्थीमा भएको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि हरदम प्रयास गरिरहेको छ,’ पौडेलले भने, ‘विद्यार्थीभित्र आफैंमा क्षमता हुन्छ । त्यो क्षमता पहिचान नहुँदा उनीहरु अवसरबाट बञ्चित हुन सक्छन् । तर, यस्ता गतिविधिले विद्यार्थीको क्षमताको पहिचान हुनेछ ।’
तपाईको प्रतिक्रिया