पोखरा रंगशालामा हुने विराट चक्र विज्ञान कार्यक्रम स्थगित

पोखरा । पोखरा रंगशालामा आयोजना हुने तय भएको विराट चक्र विज्ञान कार्यक्रम मौसम र प्राविधिक कारणले स्थगित गरिएको छ। यसअघि तोकिएको स्थानमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि वेकल्पिक स्थानको खोजी गरिए पनि सम्भव नभएको आयोजकहरूले जनाएका छन्।
त्यसो त रंगशालामा बालबालिकाहरुले फुटबल अभ्यास गर्दै आएकाे स्थानमा विराट चक्र विज्ञान कार्यक्रम गर्न लागेको भनी खेलसम्बद्ध संस्था र व्यक्तिहरुले विरोध पनि गर्दै आएका थिए । विरोधका वापजुद तयारी थालिए पनि मंगलबार साँझपखको हावाहुरी सहितको पानीले शिविरस्थलमा निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि आयोजकमाथि अर्को सकस थपिएको हो ।
यसै सन्दर्भमा, दर्ता प्रक्रिया पूरा गरिसकेका सहभागीहरूले फागुन ११ गतेभित्र मात्र नयाँ स्थान तोकिएपछि कार्यक्रममा सहभागिता जनाउन सक्ने आयोजक जीवन विज्ञान केन्द्रले विज्ञप्ति निकालेर जानकारी गराएको छ । फागुन ६ गते साँझ ६ बजेभित्र नाम दर्ता गरिसकेका सहभागीहरूलाई मात्र क्युआर कोड प्रदान गरिने भएको छ ।
त्यसैगरी, गण्डकी स्वाजागरको फागुन १० गते सम्पन्न हुने भनिएको समापन उत्सव हाललाई स्थगित गरिएको छ।
आयोजक जीवन विज्ञान केन्द्रले यसले पारेको असुविधाप्रति खेद व्यक्त गर्दै सहभागीहरूको सहयोग र धैर्यताका लागि आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया