‘पर्खाल भित्रको किरण’ सार्वजनिक

पोखरा
कास्की सुधार गृह ब्लक केले प्रकाशन गरेको स्मारिका ‘पर्खाल भित्रको किरण’ सार्वजनिक गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रमको अध्यक्षता कास्की सुधार गृह के ब्लकका आन्तरिक प्रशासन प्रमुख प्रविण गुरुङले गरेका थिए । कार्यक्रममा कास्की सुधार गृहका प्रशासन प्रमुख राजेन्द्र शर्माले कारागार सुधारगृहका रुपमा रुपान्तरित हुँदै आएकाले सुधारगृहमा आएकालाई समाज र राष्ट्रले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको बताए ।
शर्माले सुधारगृहमा आवश्यक पर्ने विभिन्न भौतिक निर्माण र सुविधाका लागि आफूले विभिन्न निकायको ध्यानाकर्षण गराएको सुनाए । उनले बन्दी तथा थुनुवाहरुले सुधार गृहमा रहँदा शारीरिक तथा मानसिक स्वास्थ्यबारे ध्यान दिने, कसरत, योग, ध्यान गर्दै सकारात्मक सोच राख्न आग्रह गरे ।
सुधरगृहका सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक यमबहादुर चिदीमगरले देशका विभिन्न उच्च तहमा पुगेका व्यक्तित्वहरु पनि कुनै न कुनै काल खण्डमा सुधारगृहमा रहेको बताउँदै बन्दी तथा थुनुवा हुँदै हतोत्साही नबन्न आग्रह गरे । कार्यक्रममा स्मारिका प्रकाशन समिति संयोजक पवन नेपाल, दावा लामा र सम्झना कार्की, आन्तरिक प्रशासनका मुल दाइ नाइके सुनील पराजुली, रमण पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा सुधारगृहमा रहेका १५ ज्येष्ठ नागरिकलाई फलफूल वितरणसहित सम्मानसमेत गरिएको थियो । ब्लक कका आन्तरिक प्रशासन उपप्रमुख प्रकाश गुरुङले स्मारिका बिक्रीबाट प्राप्त रकम ब्लक क मा रहेका बन्दी तथा थुनुवाहरुको उपचारार्थ स्थापित मेडिकल कोषमा जम्मा हुने गरिने जानकारी दिए । स्मारिकामा आन्तरिक प्रशासनले गरेका गतिविधिहरु समावेश गरिएको छ ।
तपाईको प्रतिक्रिया