कायाकल्प अभियानको समीक्षा

पोखरा ।
आधारभूत तहसम्मका सदस्य तथा कमिटीगत अवस्था बुझ्न नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले कायाकल्प अभियान २०८१ सञ्चालन गरेको छ । राष्ट्रिय कमिटीदेखि स्थानीय तहसम्म उत्पन्न हुन सक्ने वा भए गरेको अन्तरविरोधको पहिचान गरी समाधान गर्नको लागि गत पुस १ गतेदेखि अभियन सुरुवात भएको हो ।
अभियानको बुधबार गण्डकी प्रदेश स्तरीय मध्यावधि समीक्षा (मूल्यांकन) गरिएको छ । कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष विनोद श्रेष्ठले समग्रमा अभियान सन्तोषजनक ढंगले अगाडि बढेको जानकारी दिए । ‘कुनै पनि अभियान गर्दा सकारात्मक या नकारात्मक प्रभाव पर्न सक्छ,’ उनले भने, ‘अभियानको मूल्यांकन तथा समस्ीक्षा गर्दा उत्साहजन भएको पाइएको छ ।’
उनले अभियानको क्रममा नेता तथा कार्यकर्तामा निराशाजनक अवस्था नपाएको बताए । अध्यक्ष श्रेष्ठले सानातिना समस्या देखिए पनि अभियानको सकारात्मक प्रभाव परेको जनाए । कायाकल्प अभियानले आधारभूत तहसम्म सैद्धान्तिक र राजनीतिक प्रशिक्षण हुनुका साथै जिफन्ट आधारभूत तहको वर्गसम्म पुगेको छ ।
घटक युनियन र जिफन्टको संरचनाबीच एकिकृत भावनाको विकास भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेता तथा कार्यकर्ताको वर्गीय दृष्टिकोणमा स्पष्ट भई सम्बन्ध सुमधुर भएको दाबी गरे । जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले जिफन्टको राष्ट्रिय कमिटीको कार्यादेश अनुसार विशेष योजनाका साथ अभियान अगाडि बढाएको जानकारी दिए ।
उनले मध्यावधिसम्म आइपुग्दा अभियानको ४७ प्रतिशत काम पूरा भएको बताए । अभियानको सकारात्मक प्रभाव परेको जानकारी दिँदै उनले अभियान उत्साहका साथ अगाडि बढेको तथा तय गरेका योजना अनुसार काम भएको दाबी गरे । उनले अभियान आगामी चैत मसान्तमा समापन हुने जनाए ।
गण्डकीमा भएको अभियानमा ७१ नेता तथा कार्यकता खटिएको जानकारी दिदै उनले कुनै पनि कार्यक्रममा ५१ प्रतिशत सहभागिता नपुगेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर केसीले जिफन्टले गृहकार्य दिएर घटक युनियनलाई क्रियाशील बनाएको प्रतिक्रिया दिए ।
‘श्रमजीवी वर्गको सम्मानित, समृद्ध र सिर्जशील जीवन’ भन्ने नाराका साथ भएको कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, सचिव महेन्द्र श्रेष्ठ, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लीलाबहादुर कार्की, सचिव राजेन्द्र पौडेल लगायतले बोलेका थिए ।
जिफन्ट गण्डकी प्रदेश कार्यालयमा एक्सन रुम निर्माण गरी सञ्चालित कार्यक्रमको देशव्यापी रुपमा अनुभव आदानप्रदान कार्यक्रम सुरुवात गरिएको छ ।
तपाईको प्रतिक्रिया