‘समृद्धिमा राससले सहयोग गर्नुपर्छ’

कृष्ण दवाडी
कास्की ।
राष्ट्रि««य समाचार समिति (रासस)ले सुशासन र गण्डकीको समृद्धिका आधार पहिल्याउन सहयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । राससको ६४ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार गण्डकी प्रदेश कार्यालयले पोखरामा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा वक्ताहरूले समृद्धिका लागि सुशासन अनिवार्य रहेकाले समाचारका माध्यमबाट राससले खबरदारी गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्वतन्त्र, विश्वसनीय र उत्तरदायी सञ्चार माध्यम सुशासनको महत्वपूर्ण आधारशीला रहेको बताए । भने, ‘राससले देशभरका जनतालाई सत्य, सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्दै समृद्ध राष्ट्र निर्माणको यात्रामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गण्डकी प्रदेशका समस्या, चुनौती र समृद्धिका आधार पहिल्याउन, समाजमा देखिएका विभिन्न विकृति, विसंगति समस्या र समाधानका उपायबारे पनि उजागर गर्न आवश्यक छ ।’
सरकार मातहतको सञ्चार संस्था भए पनि राससले सरकारका कामको प्रशंसा गर्ने मात्र नभइ आलोचनासमेत गर्न सक्नुपर्नेमा मन्त्री थापाको जोड छ । उनले अहिले अर्थतन्त्रमा समस्या रहेको र व्यवसायीले बैंकबाट ऋण लिएर लगानी गर्न डराइरहेको अवस्थामा व्यावसायिक मनोवल वृद्धि र व्यावसायिक वातावरण निर्माणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुुने औंल्याए ।
गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले प्रदेश सरकारका गतिविधिलाई आमजनताबीच पु¥याउन राससको भूमिका महत्वपूर्ण हुने जनाइन् । राससको समाचार सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्ने आवश्यकतामा जोड दिँदै उनले पछिल्लो समय राससले सुरु गरेको २४ घण्टा सेवा, मातृभाषामा समाचार लगायतको प्रशंसा गरिन् ।
राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले राष्ट्रिय अन्तर्राष्ट्रि«य महत्वका विषयमा सरकारको धारणा के हो भनेर बुझ्नका लागि रासस समाचार खोजी हुने गरेको सुनाए । पत्रकारको कलम र माइक्रोफोनले देशमा समृद्धि कायम गर्न सघाउने भएकाले खोजमूलक समाचारलाई प्राथमिकता दिन उनले आग्रह गरे ।
‘राससले खोजमूलक समाचार दिन सक्नुपर्दछ । खोजमूलक पत्रकारिताले जनताका भोगाइ सरकारसम्म ल्याउन सहयोग पुग्दछ र यसले विकास र समृद्धि हासिल गर्न सहयोग पुग्दछ’, पूर्वअध्यक्ष बरालले भने । राससको तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख एवं पत्रकार महासंघ कास्की शाखाका पूर्वअध्यक्ष नारायण कार्कीले राससको महत्व बढाउन यसलाई स्वायत्त संस्थाका रूपमा विकास गरिनुपर्ने धारणा राखे ।
रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले राससले २४ घण्टा आधिकारिक, विश्वसनीय, सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्दै आएको बताए । देशका ७७ वटै जिल्ला एवं आवश्यकता अनुसार पालिकामा समेत राससका प्रतिनिधिले हरेक दिन समाचार सम्प्रेषण गर्दै आएको जानकारी दिँदै उनले गण्डकी प्रदेशको पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र उद्योग व्यवसायलाई केन्द्रमा राखेर समाचार प्रकाशन भइरहेको जनाए ।
कार्यक्रममा पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, पत्रकार विजय नेपाल, दीननाथ बराल, आरजु विष्ट सल्यानी, विमल तिवारी, भानु पाण्डे लगायतले रासस समाचारमा गण्डकी प्रदेशका समाचारले प्राथमिकता पाएको र अब नागरिक चासोका समाचार दिन सकेमा समृद्धिमा योगदान पुग्ने धारणा राखे। कार्यक्रममा रासस गण्डकी प्रदेश कार्यालयका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापा र जिल्ला समाचारदाता जमुना शर्माले पनि बोलेका थिए । रासस
तपाईको प्रतिक्रिया