आत्मविश्वासका साथ स्वदेशमै योगदान दिन प्रधानमन्त्री ओलीको आग्रह

समाधान संवाददाता २०८१ फागुन ८ गते १६:५५

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको परिभाषा प्रकृतिमा रहेका सम्भावनाहरूलाई चिनेर तिनको अधिकतम सदुपयोग गर्न सक्नुलाई मान्नुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले स्नातक जीवन पूरा गरेका विद्यार्थीहरूलाई आत्मविश्वासका साथ स्वदेशमै योगदान दिन आग्रह गरे ।

Advertisement


उनले देशलाई सुन्दर, समृद्ध र जनतालाई सुखी बनाउने आफ्नो सपना रहेको उल्लेख गर्दै, त्यसका लागि सबैले साझा संकल्पका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटोमा हात्ती भेटेमा त्यसलाई समातेर तालिम दिएर माउते बनेर हिँड्न सक्नुपर्छ,’ उनले भने, ‘हात्ती देखेर भाग्नु हुँदैन ।’ उनले दीक्षित विद्यार्थीलाई स्वाभिमानी नागरिक हुनुपर्ने र देशभक्ति भावनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए ।


नेपाल विश्वका १५३ देशभन्दा ठूलो रहेको तर्क गर्दै उनले सार्वभौमसत्ता सानो वा ठूलो नहुने बताए । प्राचीन विश्वविद्यालयहरू नेपालमै रहेको दाबी गर्दै ओलीले शिक्षा र ज्ञानको परम्परा यहीँबाट सुरु भएको बताए । गणित, औषधि विज्ञान, सर्जरी, दर्शनशास्त्र, योगजस्ता क्षेत्रहरू नेपाली सभ्यतासँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले नेपालीहरूमा सम्भावना रहेको बताए ।
‘नेपालीमा सम्भावना छ, प्रकृतिमा सम्भावना छ, त्यसलाई चिनेर सदुपयोग गर्नु नै वास्तविक शिक्षा हो,’ उनले भने, ‘प्रतिस्पर्धी भावना, आत्मविश्वास र इमान्दारिताले मात्र सफलता मिल्छ ।’ इमान्दारितासँगै समाजोपयोगी कार्यलाई मात्र सफलता मान्नुपर्ने धारणा राख्दै उनले भने, ‘आफूलाई मात्र राम्रो गर्नुलाई सफलता मानिँदैन । बेइमानीले केही लुट्न सफल भए पनि त्यो चरम असफलता हो ।’


पोखरा प्राकृतिक रूपमा मात्र नभई व्यवसाय, उद्यम, शिक्षा र स्वास्थ्यका हिसाबले पनि अघि बढेको उल्लेख गर्दै उनले गण्डकी प्रदेश हुँदै सिंगो नेपाललाई प्रगतिको बाटो देखाउने सम्भावना रहेको बताए ।


समारोहमा प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले पोखरालाई दुर्गम क्षेत्र भनेर २०१९ सालमा कलेज खोल्न नदिएको स्मरण गर्दै अहिले शिक्षाको क्षेत्रमा भएको विकासप्रति खुशी व्यक्त गरे । विश्वविद्यालयको दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरेका ७,८७२ विद्यार्थी दीक्षित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया