पोखरामा सुरु भयो ५ दिने राजयोग प्रशिक्षण

समाधान संवाददाता २०८१ फागुन ८ गते १८:४१

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, पोखराले पाँच दिवसीय राजयोग प्रशिक्षण आयोजना गरेको छ । ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग मेडिटेसन’ विषयक यो कार्यक्रम दिनमा तीन सत्र सञ्चालन हुनेछ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले समाजका विकृति र विसंगति हटाउन मेडिटेसन तथा आध्यात्मिकताको ठूलो भूमिका रहने बताए । मानसिक तथा शारीरिक रूपमा स्वस्थ व्यक्तिमात्र सामाजिक उत्तरदायित्व बहन गर्न सक्षम हुने उनले उल्लेख गरे । यो प्रशिक्षण पोखराका लागि उपलब्धिमूलक हुने र प्रशिक्षार्थीको जीवन परिवर्तन गर्ने विश्वास उनले व्यक्त गरे ।

ब्रह्माकुमारीज नेपालकी अध्यक्ष परिणीता दिदीले मानिसले पर्याप्त भौतिक सम्पन्नता प्राप्त गरे पनि मनको शान्ति नभए त्यो सबै अर्थहीन हुने बताइन् । उनले मानव मन अशान्त हुँदै जानुको कारण क्रोध, लोभ, मोह, अभिमानका दाग भएको बताउँदै आत्मशुद्धिका लागि यस्ता प्रशिक्षण आवश्यक रहेको उल्लेख गरिन् ।

Advertisement

संस्थाका महासचिव राजयोगी शैलेषराज बरालले तनावयुक्त वातावरणमा शान्त जीवन जिउन आध्यात्मिक साधना आवश्यक हुने बताए । मानिसले सुख–दुःख भोग्नु आफ्नै सोचको उपज भएको उल्लेख गर्दै उनले भूतकालका सम्झना र भविष्यको चिन्ताले तनाव बढ्ने बताए । प्रकृति, परिवार र समाजप्रति न्याय गर्न प्रत्येक दिन केही समय आध्यात्मिक साधनामा लाग्नुपर्ने उनको भनाइ छ ।

प्रशिक्षक राजु घलेबाट सिकाइने जीवनोपयोगी टिप्स आत्मसात् गरेर खुसी र आनन्द ल्याउन उनले सबैलाई आग्रह गरे । ५ दिवसीय कार्यक्रमका प्रशिक्षक ब्रह्माकुमार राजु घलेले शुभकामना मन्तव्यसहित पहिलो सत्र सञ्चालन गरे । उनले जीवन खुसीयाली बनाउने तरिकासँगै राजयोगको गहन ज्ञानलाई सरल, व्यावहारिक र वैज्ञानिक ढंगले प्रस्तुत गरे ।

Advertisement

कार्यक्रममा विभिन्न समाजसेवी, राजनीतिज्ञ, नेतृत्व तहका व्यक्तिहरू, संघ–संस्थाका प्रतिनिधिहरू, ब्रह्माकुमारीज शाखा तथा उपशाखाका सहति करिब ५ सय जनाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया