तनहुँको दमौलीमा सहकारी अन्तर्क्रिया

पोखरा । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ तनहुँको समन्वयमा फागुन ५ गते व्यास नगरपालिकाको दमौलीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सहकारी रजिस्ट्रार भेषराज रिजालको अध्यक्षता र व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारी र जिल्ला बचत तथा ऋण संघका अध्यक्ष देवीबहादुर बस्नेतको उपस्थिति थियो । अतिथिको रूपमा व्यास नगरपालिकाका सहकारी शाखा प्रमुख रामहरि पण्डित, जिल्ला सहकारी संघ तनहुँ र बचत तथा ऋण सहकारी संघ तनहुँका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
कार्यक्रम उदघाटनपछि नगरप्रमुख वैकुण्ठ न्यौपानेले सहकारी स्वनियमन र स्वनियन्त्रणमा चल्ने स्वायत्त संस्था भए तापनि सहकारी बिग्रनुको मुख्य कारण सहकारीले इमान्दारिता, नैतिकता र विश्वास गुमाउनु नै हो भन्ने धारणा राखे ।
जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारीले सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, उपसमितिका पदाधिकारीहरूमध्ये ४९ प्रतिशतसम्मले डोसरी कर्जा लिन पाइने मौजुदा कानुनी व्यवस्था रहेकोमा हाल त्यस्ता जिम्मेवार पदाधिकारीहरूले डोसरी कर्जा लिन नपाइने गरी कानुन संशोधन भएको जनाए ।
सहकारी रजिस्ट्रार भेषराज रिजाल, व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, शाखा अधिकृत चोलाकान्त वाग्ले र जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारीले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रम शाखा अधिकृत ईश्वरी ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक लगायत ६५ जनाको सहभागिता थियो । कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू, सम्पत्ति शुद्धीकरण र सहकारी कानुन, ऋण लगानी र असुली एवं व्यास नगरपालिका क्षेत्रमा सहकारी सुधारका प्रयास विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा देवीबहादुर बस्नेत, विष्णुकुमार श्रेष्ठ, रोशनी श्रेष्ठ, उदयराज तिमिल्सिना, राजु आचार्य र रामहरि पण्डितले उठान गरेका संस्था अद्यावधिक, सदस्यता पहिचान, नियमन अनुगमन, थप तालिम, अन्तर्क्रिया गोठी, ऋण असुली र लिलाम प्रक्रिया आदि सम्बन्धी जिज्ञासा, सुझाव र प्रतिक्रियाका विषयमा सहकारी रजिस्ट्रार र अधिकृतहरूले समाधानका उपायबारे परिचर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया