मेट्राे कार्ड २ महिनामै समस्याग्रस्त !

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १२:१६

विकास रोकामगर
पोखरा

पोखरा महानगरले गत चैत ३ गते सार्वजनिक गाडीमा विद्युतीय टिकट (इ–टिकेटिङ) प्रणाली लागु गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनीबीच त्रिपक्षीय सम्झौता गर्‍यो । सम्झौता अनुसार वैशाख पहिलो हप्ताबाटै महानगरभित्र चल्ने गाडीमा इ–टिकेटिङ सिस्टम सुरु हुनुपथ्र्याे ।

सम्झौता कार्यक्रममा मेयर मानबहादुर जिसीले स्मार्ट यात्रा कार्ड लागु भइसकेपछि यात्रु र सवारी धनी दुवै लाभान्वित हुने बताएका थिए । यसबाट समय तथा पैसा दुवै बचत हुने उनको दाबी थियो ।

Advertisement

स्मार्ट यात्रा कार्ड समयमै सुरु हुन सकेन । जेठमा ‘साउनदेखि सुरु गर्ने’ घोषणा भयो । महानगर र एनक्लाउडले बल्ल यातायात व्यवसायीलाई तालिम सुरु गरे । १ महिनासम्म चलेको तालिममा ८ सय सवारी चालक, सहचालक र सवारीधनीलाई इटिकेटिङ प्रविधि प्रयोगबारे सिकाइयो ।

साउनदेखि सुरु गर्ने भनिएको योजना दोस्रो पटक पनि असफल भयो । भदौमा बल्ल यात्रुलाई स्मार्ट कार्ड बाँड्न सुरु भयो । महानगर र एन्क्लाउडसँगको सहकार्यमा त्यति बेला ओम डेभलपमेन्ट बैंकले एटिएम कार्ड शैलीको सय रुपैयाँ ब्यालेन्स भएको कार्ड बाँडेको थियो ।

Advertisement

साउन अन्तिममा केही गाडीमा यसको परीक्षण गरी भदौ २ गते मेयर जिसीले औपचारिक सुरुआत गरे । इटिकेटिङ लागु नगर्ने बसमाथि निगरानी राख्न अनुगमन समिति पनि बन्यो समिति संयोजकमा पोखरा १३ का अध्यक्ष दर्शन लामा छन् । भदौ तेस्रो साता इटिकेटिङ सुरु नगर्ने ८ बस कारबाहीमा परे ।

काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागु गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरसँगको सम्झौता छ । महानगरसँग पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागु गर्न सम्झौता गरेका छन् ।

२ महिनामै असफल !
ठूलै प्रचारसहित सुरु भएको टिकेटिङ प्रणालीमा समस्या देखिएको छ । सम्झौता भएको ४ महिनापछि सुरु भएको इटिकेटिङ प्रणाली २ महिनामै असफल देखिएको हो । टिकट काट्ने मेसिन, इन्टरनेट आदिमा समस्या देखिन थालेकाले हाल अधिकांश सवारीधनीले यो प्रणाली नै प्रयोग गरेका छैनन् ।

टिकट मेसिनका लागि नेपाल टेलिकमले थ्रिजी इन्टरनेट उपलब्ध गराउँदै आएको छ । ‘मेसिनले टिकटै फाल्दैन, घरबाट फुल चार्ज गरेर ल्यायो आधा बाटोमै सकिन्छ,’ १ सवारी चालकले भने, ‘कामै नभई अनावश्यक रुपमा मेसिन तात्तिने र इन्टरनेट डाटा चाँडै सकिएर हैरान भयौं ।’ अनावश्यक झन्झट हुन थाले पनि दसैं अघिबाटै अधिकांशले मेसिन बोक्नै छोडिसकेका छन् ।

परिमार्जित रुपमा आउँदै छौंः महानगर
महानगरले परिमार्जित रुपमा आउन लागेकाले कार्ड रोकिएको प्रतिक्रिया दिएको छ । इटिकेटिङका लागि नयाँ रुटको खोजी भइरहेकाले पनि सिस्टम रोकिएको महानगरको भनाइ छ ।

‘नेपाल टेलिकमको थ्रिजी सेवा पहिले सबैसँग पुगेको थिएन । दूर सञ्चार र एनक्लाउडलाई मंगलबार महानगरले पत्राचार गरिसकेको छ,’ महानगर ट्राफिक व्यवस्थापन संयोजक सुरेन्द्र पौडेलले भने, ‘बीचमा दसैं थियो । लगत्तै तिहार आइसक्यो । अब समस्या विस्तारै हल हुन्छ ।’ उनले पहिले १ सय ८० वटामा दूरसञ्चारले इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब ८ सय वटामै पुर्‍याउने जानकारी दिए ।

इटिकेटिङ अनुगमन समिति संयोजक दर्शन लामाले सवारी प्रणाली परिमार्जित रुपमा आउन लागेको दाबी गरे । ‘बाहिर बन्द हुन लागेको खबर आइरहेको छ । बन्दै हुन लागेको होइन,’ लामाले भने, ‘अब अर्को पटक ट्याप इन र ट्याप आउट सिस्टमसहित ल्याउन लागेका छौं ।’

परीक्षण कालमा समस्या देखिन्छः कम्पनी
प्राविधिक सहयोगी संस्था एनक्लाउडका दीपेन्द्रनारायण श्रेष्ठले नेपाल टेलिकमको ‘डाटा’मा काम भइराखेकाले इटिकेटिङ रोकिएको बताए । उनले ‘परीक्षण’ अवधि भएकाले केही समस्या देखिनु सामान्य भएको दाबी गरे ।

‘अहिले एनटिसीको डाटामा काम भइराखेको छ । फेरि हामीले अझै औपचारिक सुरुआत पनि गरेका छैनौं,’ श्रेष्ठले भने, ‘सुरुमा झ्याप्पै ८ सय वटामा लागु गर्दा केही समस्यामात्रै देखिएको हो ।’ उनले अब सबै सवारी धनीले ‘सिस्टम रिन्यु’ गरेर नयाँ तरिकाले तिहारपछि सञ्चालनमा ल्याइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया